व्यापारीलाई किन सस्तोमै धान बेच्न बाध्य छन् किसान ?

किसानले खाद्य डिपोमा पुर्‍याएको धान बिक्री हुने सुनिश्चित हुँदैन । खाद्यले खरिद गर्ने धानको कोटा न्यून हुने भएकाले आफूले लिएको धान बिक्री गर्न पहुँच चाहिन्छ

कार्तिक २६, २०८२

अर्जुन शाह

Why are farmers forced to sell rice cheaply to traders?

What you should know

धनगढी — यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोटो धानको खरिद मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ निर्धारण गर्दै कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा डिपो खडा गरेर धान खरिद कार्य गरिरहेको छ । तर किसानहरू भने विगतझैँ स्थानीय खाद्य व्यापारीहरूलाई दुई हजार पाँच सय रुपैयाँमा बिक्री गर्न बाध्य छन् ।

खाद्यले यस वर्ष कैलालीमा ३५ हजार क्विन्टल र कञ्चनपुरमा पाँच हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको छ ।

कैलाली र कञ्चनपुरका किसानहरू सरकारले दिने मूल्यभन्दा वर्षेनि किन सस्तो मूल्यमा स्थानीय खाद्य व्यापारीलाई बेच्न बाध्य हुनुका अनेक कारण देखिएका छन् । किसानहरूका भनाइमा पहिलो कारण खाद्यमा धान बिक्री गर्नै कठिन हुन्छ । अर्थात् किसानले खाद्य डिपोमा पुर्‍याएको धान बिक्री हुने सुनिश्चित हुँदैन । दोस्रो, खाद्यले खरिद गर्ने धानको कोटा न्यून हुने भएकाले आफूले लिएको धान बिक्री गर्न पहुँच चाहिन्छ ।

तेस्रो, धान बिक्रीको रकम खाद्यले किसानहरूलाई तत्काल दिँदैन । अर्को कारण भनेको स्थानीय खाद्य व्यापारीहरूले किसानहरूलाई धान रोप्ने बेलामै धान खरिदका लागि बयानाबट्टाबापत अग्रिम रूपमा रकम दिइसकेका हुन्छन् । कैलालीको कैलारीका किसान मोतीराम चौधरीले भने, ‘यिनै तीन चारवटा मुख्य कारणले किसानहरू प्रतिक्विन्टल एक हजार कम रेटमा स्थानीय खाद्य व्यापारीलाई बिक्री गर्न बाध्य छन् ।’

किसानहरू खाद्यमा धान बिक्री गर्न झन्झटिलो प्रक्रिया रहेको बताउँछन् । खाद्यले धान बिक्री गर्न किसानले वडा कार्यालयको सिफारिस अनिवार्य ल्याउनुपर्ने नियम बनाएको छ । अर्कोतिर खाद्यले सफा र राम्ररी सुकेको धान मात्रै खरिद गर्ने गरेको छ ।

Why are farmers forced to sell rice cheaply to traders?

टाढाटाढाबाट ढुवानी खर्च गरेर खाद्य डिपोसम्म धान पुर्‍याएको हुन्छ, तर कर्मचारीले धान सफा नभएको भन्दै फिर्ता पठाइदिने गरेको किसानहरू बताउँछन् । ‘तर स्थानीय खाद्य व्यापारीहरूसँग भने त्यस्तो कुनै झन्झट हुँदैन,’ कैलारीकै अर्का किसान रेबन्त बोहरा भन्छन्, ‘मूल्य कम भए पनि व्यापारी कहाँ धान पुर्‍याइसकेपछि बिक्री हुँदैन कि भन्ने चिन्ता हुँदैन ।’ अर्कोतिर, गल्ला व्यापारीहरूले किसानहरूलाई धान बेच्नका लागि खाद्य डिपो लैजान रोक्ने प्रपञ्च पनि गर्छन् ।

कैलालीका एक जना स्थानीय खाद्य व्यापारीका अनुसार व्यापारीहरूले किसानबाट सस्तो मूल्यमा खरिद गरेको धान खाद्यमा महँगो मूल्यमा बिक्री गर्छन् । ‘पहुँचवाला व्यापारीहरू र खाद्यका कर्मचारीबीच मिलेमतो हुन्छ ।’ खाद्यले एक जना किसानबाट अधिकतम् ५० क्विन्टल धान खरिद गर्ने मापदण्ड बनाएको छ तर एउटै व्यापारीले त्योभन्दा कैयौँ गुणा बढी धान बिक्री गर्छन् ।

‘खाद्यले वडा कार्यालयको सिफारिस माग्छ, व्यापारीहरूले त्यो सब मिलाउँछन् ।’ तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख दीपक थापाले भने त्यो कुरा गलत भएको दाबी गर्छन् । उनले भने, ‘हामी वडा कार्यालयको कागजपत्र र सिफारिस हेरेर खरिद गर्छौं । व्यक्तिको अनुहार नभई कागज हेर्ने हो ।’

प्रदेश कार्यालय प्रमुख थापाले कैलालीमा खरिद कार्य सुरु गरेको दस दिनमा सोमबारसम्म २२ हजार ५७९ क्विन्टल धान खरिद भइसकेको बताए । ‘कैलालीमा छवटा खरिद डिपो स्थापना गरेका छौं, हरेक डिपोमा धान बिक्री गर्न आउने किसानहरूको अत्यधिक चाप छ । लामो लाइन छ,’ थापाले भने, ‘अत्यधिक चाप भएकाले कुपन सिस्टम बनाएका छौं, हरेक डिपोमा दुईवटा काटा सञ्चालन गरिरहेका छौं ।’ उनले कात्तिकभित्रै यस वर्षको धान खरिदको कोटा पूरा हुने अनुमान गरे ।

खाद्यमा धान बिक्री गर्न गएका किसानहरू भने बिक्रीको पालो नआएर चार/पाँच दिनसम्म पालो कुर्दै बसेका छन् । कैलालीको भजनीका प्रेम चौधरी चार दिन कुर्दा बिक्री गर्ने पालो आएको बताउँछन् । खाद्यले खरिद गर्ने कोटा पूरा हुन लागेको बताउन थालेपछि खाद्य पुगेका किसानहरू भने आत्तिएका छन् । 

बर्दगोरियाका किसान लालबहादुर चौधरीले तीन दिनसम्म डल्लो र धान कुरेर डिपोमा लाइन कुर्दै बसेको बताए । खाद्यमा राम्रो मूल्य पाउने भएपछि स्थानीय खाद्य व्यापारीहरूसँग बेच्न नचाहेर सरकारी खाद्य डिपोमा पुगेका किसानहरू पालो कुर्दै हैरान भएका छन् । खाद्यका कर्मचारीहरूले भने सामान्यतः बिहान १० बजेदेखि ४ बजेसम्म धान खरिद गरिने भए पनि किसानहरूको चापका कारण बिहान ८ देखि राति ९ बजेसम्म खरिद कार्य गरिरहेको बताउँछन् ।

खाद्यले यस वर्ष कैलालीमा ३५ हजार क्विन्टल र कञ्चनपुरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा निर्धारण गरेको छ । गत वर्ष धान खरिदका लागि कैलालीमा ५५ हजार क्विन्टलको कोटा निर्धारण गरेकोमा ३४ हजार क्विन्टल मात्रै खरिद भएको थियो । कञ्चनपुरमा १५ हजार क्विन्टल कोटा निर्धारण गरिएकोमा लक्ष्यको २० प्रतिशत मात्र खरिद भएको थियो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully