पौवा होटलले भरतपुरमा देशभरका १६ शाखाका सेफहरूद्वारा तयार गरिएका ४५ भन्दा बढी परिकार निःशुल्क चाख्न पाउने वृहत फुड एक्जिबिसन आयोजना गर्ने भएको छ।
चितवन — रूपन्देही सालझन्डीमा नौ वर्षअघि पहिलो होटल खोलेको पौवाले १६औँ शाखाका रूपमा चितवन सदरमुकाम भरतपुरमा पनि होटल सञ्चालनमा ल्याएको छ। होटल उद्घाटनको अवसर पारेर बिहीबारदेखि तीन दिनसम्म खाना प्रदर्शनी आयोजना गरिएको छ। तीन दिनमा करिब ४० हजार जनालाई ४५ थरीका परिकार चखाउने होटलले जनाएको छ।
‘उक्त फुड एक्जिबिसन (खाना प्रदर्शनी)मा पौवाका देशभरका शाखाबाट आएका सेफहरूले तयार पारेका परिकारहरू र खाद्यकला प्रस्तुत गर्नेछन्,’ मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने। देशभर रहेका पौवाका १६ होटलका सेफहरूले हरेक दिन फरक–फरक परिकार तयार गर्नेछन्। प्रदर्शनीमा आउनेहरूले निःशुल्क ४५ परिकार चाख्न पाउने छन्।
‘हामीले यस्ता प्रदर्शनीहरू अन्यत्र पनि गरेका छौँ। त्यसैका अनुभवले चितवनमा पनि वृहत प्रदर्शनी राखेका हौँ। हामीले निमन्त्रणा गरे अनुरुप तीन दिनसम्म ४० हजार पाहुनाहरू आउने अपेक्षा छ,’ अध्यक्ष भण्डारीले भने। नेपाली परिकारका साथै भारतीय र चाइनिज परिकार पनि राख्ने उनले बताए। यस्तै प्रदर्शनीबाट पौवाले मौलिक परिकार ‘मरौटी चिकन’ तयार गरेको पनि उनले सुनाए।
भरतपुर चौबिसकोठीदेखि दक्षिण–पश्चिम क्यान्सर अस्पताल जाने बाटोमा पौवा होटल रहेको छ। सो ठाउँमा सहकारी संस्थाका सदस्यहरूले मिलेर लगानी गरेको तारापुञ्ज होटल थियो। सोही होटल पौवाले लिएको हो। ‘बनेका जे-जति संरचनाहरू छन् ती हामीले किन्यौँ। जग्गा भाडामा रहेछ। त्यो १५ वर्षका लागि र पछि १० वर्ष थप्न मिल्ने गरी हामीले भाडा तिर्ने भयौँ,’ अध्यक्ष भण्डारीले भने।
पौवाले भरतपुरमा आठ करोड रुपैयाँ लगानी गरेको र थप तीन करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। हाल ६० जनाले रोजगारी पाइरहेको भरतपुरको पौवा होटल पूर्ण सञ्चालनमा आउँदा ८० जनाले प्रत्यक्ष रोजगार पाउने सञ्चालक ध्रुव न्यौपानेले बताए। २५ कट्ठा जग्गामा फैलिएको पौवामा १७ ओटा लक्जरी कोठा छन्। सुविधा सम्पन्न थप १२ कोठा निर्माणको चरणमा छन्।
रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, बगैँचा, विवाह, व्रतबन्ध र कर्पोरेट कार्यक्रमका लागि दुई वटा ठूला हल, साना बैठक र पारिवारिक भेटघाटका लागि १० वटा हलको सुविधा पनि त्यहाँ छ। ‘चितवन पर्यटकीय क्षेत्र हो। निकुञ्जदेखि देवघाट जस्ता धार्मिक–पर्यटकीय क्षेत्र यहाँ छन्। हामी पर्यटक केन्द्रित प्याकेज पनि ल्याउँछौँ। साथै कर्पोरेट सेक्टरलाई फोकस गर्नेछौँ,’ अध्यक्ष भण्डारीले भने।
सञ्चालनमा आएको नौ वर्षभित्रै १६ ठाउँमा सेवा विस्तार गर्दा चार अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको र हजारभन्दा बढीलाई रोजगारी दिएको अध्यक्ष भण्डारीले बताए। आउँदो १० वर्षभित्र सय ठाउँमा होटल खोल्दै अन्तर्राष्ट्रिय बजारमा पनि जाने योजना रहेको उनले सुनाए। नेपालगन्जमा पाँच–तारे स्तरको होटलको काम भइरहेको र पाल्पामा पनि पाँच–तारे रिसोर्ट बनाउने बताए।
‘सालझन्डीमा २० लाख रुपैयाँ लगानीमा पाँच वटा कोठाबाट सेवा सुरु गरेका हौँ। नेपालमा केही हुँदैन भन्ने सोच तोड्नु पर्दछ। हामीले नेपाली शैलीका परिकार राखेर र नेपाली शैलीकै आतिथ्य दिएर होटल सञ्जाल बढाएका छौँ। यस्तो विषम अवस्थामा पनि लगानी थपिरहेका छौँ,’ भण्डारीले भने।
पौवामा हाल दुई सय लगानीकर्ता संलग्न रहेका छन् र कर्मचारीलाई पनि लगानीकर्ता बन्ने अवसर दिने गरिएको उनले बताए। ‘लगानीकर्ता र सञ्चालकहरूमा एकखाले उत्साह छ र यसलाई साथ दिने टिम दक्ष र यसैका बारेमा अध्ययन गरेका छन्। हामीले अप्रेसन, मार्केटिङ, ब्राण्डिङ र किचनमा अनुभवी, यसैका बारेमा औपचारिक तहमा उच्च शिक्षा लिएका युवाहरू राखेका छौँ,’ अध्यक्ष भण्डारीले भने।
