‘मधु’ जातको काँक्राको बीउ प्रतिकिलो १५ हजार र ‘सिर्जना’ जातको गोलभेडाको बीउ प्रतिकिलो १ लाख ५ हजार रुपैयाँमा बिक्री गरिने ।
What you should know
डडेल्धुरा — सुदूरपश्चिमको डडेल्धुरामा काँक्रा र गोलभेडाको हाइब्रिड बीउ उत्पादन सुरु गरिएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–३ मा अवस्थित ‘तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्र’ले गत वर्षदेखि हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो । यसले किसानलाई आत्मनिर्भर बनाउन र स्थानीयस्तरमै उन्नत बीउ उपलब्ध गराउन मद्धत गरेको छ ।
२०४३ सालमा स्थापना भएको यो केन्द्र सुदूरपश्चिमकै एकमात्र सरकारी बीउ उत्पादन केन्द्र हो । सुरुवाती वर्षमा मूल बीउ उत्पादनमा केन्द्रित यो केन्द्र पछिल्ला वर्षमा हाइब्रिड बीउ उत्पादनतर्फ अगाडि बढेको छ । अहिले केन्द्रले गोलभेडा र काँक्राका जातको हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ ।
स्थानीय किसानमा यसबाट ठूलो उत्साह छ । पहिले महँगो मूल्य तिरेर अन्य प्रदेश वा विदेशबाट बीउ किन्नु पर्ने बाध्यता हटेको छ । आफ्नै जिल्लामा गुणस्तरीय बीउ उपलब्ध भएपछि खेती खर्च घट्ने र उत्पादन बढ्ने विश्वास किसानले व्यक्त गरेका छन् । हाइब्रिड बीउले राम्रो उत्पादन दिनुका साथै बेमौसमी तरकारी उत्पादनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
स्थानीय किसानले आफ्नै जिल्लामा हाइब्रिड बीउ उत्पादन सुरु भएकामा खुसी व्यक्त गरेका छन् । किसान प्रिन्सराज अवस्थीले यहाँ उत्पादन गरिएको हाइब्रिड बीउले प्रतिफल दिने बताए । कृषि प्राविधिक समेत रहेका उनले यहाँ उत्पादन गरिएको हाइब्रिड बीउले तराईदेखि मध्यपहाडी भूभागसम्म राम्रो उत्पादन दिने बताए ।
अजयमेरुका किसान टेकराज पाठकले डडेल्धुराको माटो र मौसम हाइब्रिड बीउ उत्पादनका लागि अत्यन्त उपयुक्त भएको बताए । ‘यहाँको स्थानीय बीउले राम्रो प्रतिफल दिएको छ,’ उनले भने, ‘किसानले पनि स्थानीय उत्पादित बीउलाई प्राथमिकता दिनुपर्छ । ’
त्यस्तै, गन्यापधुराका व्यावसायिक किसान प्रसाददत्त अवस्थीले स्थानीय किसानले केन्द्रबाट सस्तो र भरपर्दो बीउ पाउन थालेपछि उत्पादन लागत घटेको बताए । पहिले भारत र अन्य ठाउँबाट आयात गरिने बीउ महँगो हुने गरेकामा अहिले आफ्नै जिल्लामा उत्पादन भएको हाइब्रिड बीउ तुलनात्मक रुपमा सस्तो रहेको बताए ।
काक्रा र गोलभेडाका बीउ उत्पादनको सुरुवाती चरणमै उत्साहजनक नतिजा आएको केन्द्रका प्रमुख तारीसिंह ठकुराठीले बताए । गत वर्ष कुनै लक्षित योजना नभएको भए पनि परिक्षणका रुपमा आफ्नै पहलमा ‘सिर्जना’ जातको गोलभेडाको साढे पाँच किलो र ‘मधु’ जातको काँक्राको चार किलो बीउ उत्पादन गर्न केन्द्र सफल भएको हो । हाल ती बीउको बिक्री–वितरण प्रक्रिया अगाडि बढिरहेको छ । 
ठकुराठीका अनुसार पहाडी भूभागमा माघ महिनाबाट तरकारीका बेर्ना रोप्न सुरु हुने भएकाले हाल उत्पादित बीउ त्यस सिजनका लागि तयार पारिँदैछ । केन्द्रले ‘मधु’ जातको काँक्राको हाइब्रिड बीउ प्रतिकिलो १५ हजार र ‘सिर्जना’ जातको गोलभेडाको हाइब्रिड बीउ प्रतिकिलो १ लाख ५ हजार रुपैयाँ पर्ने बताएको छ ।
ठकुराठीका अनुसार हाइब्रिड बीउले मूल बीउको तुलनामा बढी उत्पादन दिने भएकाले किसानमा यसको माग बढ्दै गएको छ । केन्द्रले हाल हाइब्रिड बीउ उत्पादनलाई नियमित रूपमा अघि बढाउँदैछ । यसै सन्दर्भमा आगामी वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्राविधिकहरूको सहयोगमा काँक्रा, गोलभेडा र भेडेखुर्सानीको पनि हाइब्रिड बीउ उत्पादन विस्तार गर्ने योजना रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले पनि यस बीउ उत्पादनलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसिंह बोहराका अनुसार केन्द्रले उत्पादन गरेको हाइब्रिड बीउलाई पहिलो चरणमा परीक्षणका लागि आफ्नै निगरानीमा प्रयोग गर्ने तयारी भइरहेको छ । परीक्षणको नतिजा सकारात्मक आएपछि किसानलाई अनुदानमा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । कृषि ज्ञान केन्द्रका अनुसार यस बीउलाई आगामी वर्षदेखि अनुदानमा विभिन्न किसान समूह र सहकारी संस्थामार्फत वितरण गरिनेछ ।
