पहिलो निर्यातबाटै ३८ हजार २ सय अमेरिकी डलर नेपाल भित्रिएको छ ।
What you should know
बुटवल — नेपाली आलुबाट उत्पादित ‘फ्रेन्च फ्राइज’ (जमाएको आलु चिप्स) अमेरिका निर्यात सुरु भएको छ । आधुनिक प्रविधिबाट बुटवलमा उत्पादन गरिएको ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका ‘फ्रेन्च फ्राइज’ सडकमार्ग हुँदै गतसाता भारतको कोलकाता बन्दरगाह पुगिसकेको हो ।
४२ टन ‘फ्रेन्च फ्राइज’ बोकेका दुईवटा कन्टेनर त्यहाँबाट समुद्री बाटो (सिपिङ) हुँदै ५५ दिनमा अमेरिका पुग्ने फर्स्ट च्वाइस फुड्स प्रालिका सञ्चालक कृष्ण पौडेलले बताए । भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले पनि नेपाली ‘फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिकामा निर्यात भएको जानकारी दिँदै भने, ‘पहिलो निर्यातबाटै ३८ हजार २ सय अमेरिकी डलर नेपाल भित्रिएको छ ।’
रूपन्देहीको शुद्धोधन–५ मैनहियामा ५ वर्षअघि स्थापना गरिएको उद्योगले व्यावसायिक उत्पादन थालेको एक वर्षभित्रै नेपाली बजारमा खपत हुने ‘फ्रेन्च फ्राइज’ को ७५ प्रतिशत आयात विस्थापन गरेको फर्स्ट च्वाइस फुड्सको दाबी छ । नेपालबाट भारतीय बजारमा निर्यात हुँदै आएको उत्पादन अमेरिकामा पनि निर्यात सुरु भएको हो । अब छिट्टै बेलायत, अस्ट्रेलिया, जापान, दुबई, मलेसिया र साउदी अरबमा पनि पुर्याइने सञ्चालक पौडेलले बताए । उनले अबको एक वर्षभित्र विदेशी आयात पूर्णतः विस्थापन गर्ने गरी थप एक दर्जन देशमा नेपाली ‘फ्रेन्च फ्राइज’ पुर्याउने लक्ष्यसहित तयारी भइरहेको जनाए ।
‘हामीले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रतिघण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमतासहित उत्पादन गरिरहेका छौं,’ फर्स्ट च्वाइस फुड्सका सञ्चालक पौडेलले भने, ‘नेपाली किसानले उत्पादन गरेको आलुबाट तयार पारिएको ‘फ्रेन्च फ्राइज’ विदेशी बजारमा पुर्याउनु हामी र हाम्रा लागि गौरवको विषय हो ।’ झन्डै दुई अर्ब रुपैयाँको लागतमा करिब ५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगले डेढ अर्ब रुपैयाँभन्दा बढी लगानीमा उत्पादन थालिएको उल्लेख गर्दै थप क्षमता विस्तारका काम पनि भइरहेको पौडेलले बताए ।
सञ्चालक पौडेलले अमेरिकाबाट मात्र ४० कन्टेनर माग आएको र अब हरेक साता २ देखि ३ कन्टेनर निर्यात गर्ने गरी उद्योगले उत्पादन बढाएको बताए । ‘फ्रेन्च फ्राइज’ को उपभोग योग्य समय १८ महिनासम्मको हुन्छ । भैरहवा भन्सार कार्यालयका अनुसार नेपालमा प्रत्येक वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको ‘फ्रोजन फुड’ आयात हुने गरेको छ । फर्स्ट च्वाइस फुड्समा २ सयभन्दा बढी नेपाली कामदारले रोजगारी पाएका छन् । उद्योगले नेपाली बजारमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १ सय ५० सप्लायर्स, ४ सयभन्दा बढी रेस्टुरेन्ट र १ सय ७१ मोडर्न मार्टमार्फत उत्पादन उपभोक्तासम्म पुर्याइरहेको छ ।
‘उद्योगले आलु प्रशोधनका लागि अत्याधुनिक ‘कोल्ड चेन’, ‘प्याकेजिङ’ र ‘क्वालिटी कन्ट्रोल सिस्टम’ पनि सञ्चालनमा ल्याइसकेको छ,’ पौडेलले थपे । अमेरिकामा निर्यात गर्नुअघि कम्पनीका उत्पादनको अमेरिकाको ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ (एफडीए) ले गुणस्तर परीक्षण गरेको थियो । मापदण्ड पूरा भएपछि मात्र निर्यातको अनुमति पाएको भैरहवा भन्सार प्रमुख न्यौपानेले बताए ।
२६ जिल्लाका ३५ हजारभन्दा बढी किसानसँगको सहकार्यमा यस उद्योगले बर्सेनि हजारौं मेट्रिक टन आलु खरिद गर्दै आएको छ । सञ्चालक पौडेलले भने, ‘किसानलाई बीउ, मल, तालिम र प्राविधिक सहयोग उद्योगले नै दिन्छ । हामीले खेतमै गएर खरिद गर्छौं ।’ उद्योगले हाल ‘फ्रेन्च फ्राइज’ सँगै ‘क्रिनिकल कट’, ‘स्माइल्स’, ‘ह्यास ब्राउन’, ‘स्मोकी बाइट्स’, आलु टिक्की, ‘भेज स्टिक’, ‘बर्गर प्याटी’, ‘पोटेटो वेजेस’ पनि उत्पादन गरिरहेको छ ।
