बजारमा धेरै पैसा थुप्रिएपछि झण्डै ६ महिनाका लागि ५० अर्ब झिकिँदै

आज करिब ६ महिना अथवा १७५ दिनका लागि बजारबाट पैसा झिक्न लागेको हो ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

After a lot of money piled up in the market, 50 billion rupees are being withdrawn for almost 6 months.

काठमाडौँ — वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (बुधबार) फेरी राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न थालेको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ ।

सोही क्रममा आज करिब ६ महिना अथवा १७५ दिनका लागि बजारबाट पैसा झिक्न लागेको हो ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा बुधबार पनि पैसा झिक्न लागेको हो ।  

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully