‘फ्रेन्च फ्राइज’ अमेरिका पठाउने डेढ अर्ब लगानीको कम्पनी

आधुनिक प्रविधिबाट उत्पादन गरिएको ४२ टन ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज भैरहवाबाट कोलकत्तासम्म सडक र त्यहाँबाट समुन्द्री मार्ग हुँदै अबको २ महिनाभित्र अमेरिका पुग्दैछ ।

कार्तिक २५, २०८२

घनश्याम गौतम

A company with a 1.5 billion investment that sends 'French fries' to America

What you should know

बुटवल — नेपाली आलुबाट बुटवलमा उत्पादित फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको छ ।

अबको २ महिनाभित्र आधुनिक प्रविधिबाट उत्पादन गरिएको ४२ टन ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज भैरहवाबाट कोलकत्तासम्म सडक र त्यहाँबाट सिपिङ (समुन्द्री बाटो) मार्फत अमेरिका पुग्न लागेको हो । भैरहवाबाट फ्रेन्च फ्राइज बोकेका २ वटा कन्टेनर गत साता कोलकत्ता पुगेका थिए । कोलकत्ताबाट ५५ दिनमा अमेरिका पुग्ने फ्रेन्च फ्राइज उत्पादन उद्योग फर्स्ट च्वाईस फुड्स प्रालिका संचालक कृष्ण पौडेलले बताए । 

रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मैनहियामा ५ वर्षअघि स्थापना भएको उद्योगले एक वर्षदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । फर्स्ट च्वाइस फुड्सले स्थापनाको ५ वर्ष र उत्पादनको एक वर्षमै नेपाली बजारमा खपत हुने ७५ प्रतिशत आयात विस्थापन गरेको उद्योगको दाबी छ । 

नेपालबाट भारतीय बजारमा निर्यात हुँदै आएको उत्पादन अमेरिका निर्यात सुरु भएको हो । बेलायत, अष्ट्रेलिया, जापान, दुबई, मलेसिया र साउदी अरबका बजारमा पनि नेपाली फेन्च फ्राईज छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । एक वर्षभित्र नेपाली बजारमा विदेशी आयात विस्थापन गर्ने र एक दर्जन अन्य देशमा पुर्‍याउने लक्ष्यसहित तयारी भइरहेको उद्योगको दाबी छ ।

दुई अर्ब रुपैयाँको लागत अनुमानमा स्थापना सुरु भएको कम्पनीमा डेढ अर्ब बढी लगानी भएको छ । उद्योगका अन्य काम पनि जारी रहेको संचालक पौडेलले बताए । ‘हामीले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रति घण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमतासहित अहिले उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘नेपाली किसानको पसिनाबाट उत्पादित फेन्च फ्राइज विदेशका बजारमा पुर्‍याउनु हामी र हाम्रा लागि गौरवको विषय हो ।’ 

A company with a 1.5 billion investment that sends 'French fries' to America

उद्योगले आलु प्रशोधनका लागि अत्याधुनिक कोल्ड चेन, प्याकेजिङ र क्वालिटी कन्ट्रोल प्रणाली पनि सञ्चालनमा ल्याएपछि यसको उत्पादनमा खाध्य प्रविधि तथा गुणस्तर कार्यालयले निर्यातको स्वीकृती दिएको उनले बताए । उद्योगले अहिले फेन्च फ्राईजसँगै क्रिनिकल कट, स्माइल्स, हृयास ब्राउन, स्मोकी बाइट्स, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटी, पोटाटो वेजेस पनि उत्पादन गरिरहेको छ ।

संचालक पौडेलले अमेरिकाबाट मात्र ४० कन्टेनर माग आएको र अब हरेक साता २ देखि ३ कन्टेर निर्यात गर्ने गरी उद्योगले उत्पादन गरिरहेको बताए । फर्स्ट च्वाइस फुड्सले नेपालका २६ जिल्लाका करिब ३५ हजार बढी किसानलाई उद्योगसँग जोडेको छ । किसानसँगको सहकार्यबाट कम्पनीले वर्षेनी हजारौं मेट्रिक टन आलु खरिद गर्दै आएको छ । 

संचालक पौडेलका अनुसार गत वर्ष मात्र उद्योगले २ हजार मेट्रिक टनभन्दा बढी आलु किसानबाट खरिद गरेको थियो । ‘हामीले किसानसँग प्रत्यक्ष सम्बन्ध बनाएका छौं,’ उनले भने, ‘किसानलाई बीउ, मल, तालिम र प्रविधिक सहयोग उद्योगले नै गर्छ । उत्पादन पछि हामी खेतमै गएर आलु खरिद गर्छौं । किसानलाई बजारको चिन्ता गर्नुपर्दैन ।’ उद्योगले कैलाली, नवलपुर, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, दाङ, र बारा–पर्सासम्मका किसानबाट आलु खरिद गरिरहेको छ । 

फ्रोजन पोटाटो प्रोडक्टको यो श्रृंखला नेपालमै पहिलोपटक युरोपियन प्रविधिबाट सञ्चालनमा आएको उद्योगको दाबी छ । कम्पनीको कारखाना करिब ५ बिघा क्षेत्रफलमा फैलिएको छ र यसमा ६० हजार वर्गफिट क्षेत्रफलमा जडान गरिएको छ । 

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले फ्रेन्च फ्राइज निर्यातलाई नेपाली किसानका लागि खुसीको खबर भएको बताए । ‘अमेरिकामा पहिलोपटक नेपाली फ्रेन्च फ्राइज पुग्दै छ,’ उनले भने, ‘पहिलो निर्यातबाट ३८ हजार २ सय अमेरिक डलर नेपाल भित्रिएको छ । यो निरन्तर हुने कुरामा विश्वस्त छौं ।’ अमेरिकामा निर्यात अघि कम्पनीको उत्पादनको गुणस्तरको परीक्षण अमेरिकी एफडीएमार्फत गरिएको थियो । आवश्यक मापदण्ड पूरा भएपछि मात्र निर्यातको अनुमति प्राप्त भएको न्यौपानेले बताए । 

A company with a 1.5 billion investment that sends 'French fries' to America

संचालक पौडेलले अमेरिकाबाट मात्र ४० कन्टेनर माग आएको र अब हरेक साता २ देखि ३ कन्टेर निर्यात गर्ने गरी उद्योगले उत्पादन गरिरहेको बताए । यहाँ उत्पादित फ्रेन्च फ्राईजको उपभोग्य मिति १८ महिनाको हुन्छ । भैरहवा भन्सार कार्यालयका अनुसार नेपालमा प्रत्येक वर्ष १० अर्ब रुपैयाँ भन्दा बढीको फ्रोजन फुड आयात हुने गरेको छ । 

फर्स्ट च्वाइस फुड्समा अहिले २ सय बढी नेपाली कामदारले रोजगारी पाएका छन् । उद्योगले नेपाली बजारमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १ सय ५० सप्लायर्स, ४ सय बढी रेस्टुरेन्ट र १ सय ७१ मोडर्न मार्ट मार्फत उपभोक्तासम्म आफ्नो उत्पादन पुर्‍याइरहेको छ । 

नेपालमा आयात प्रतिस्थापन, स्थानीय स्रोतको सदुपयोग, र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी उत्पादनका लागि रुपन्देहीमा उत्पादन भएर विदेशी बजारमा निर्यात सुरु भएको फ्रेन्च फ्राइजले किसानलाईसमेत विश्वासमा लिन सफल भएको र नेपाली कृषि उत्पादन विदेशी बजारमा स्थापित हुने रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले बताए । ‘साँचो अर्थमा यो उद्योगको सफलता भनेको नेपाली उद्योग र किसानको पनि सफलता हो,’ उनले भने, ‘नेपाली किसानलाईसमेत प्रत्यक्ष जोड्ने यस्ता उद्योगको संरक्षणका लागि राज्य पनि जिम्मेवार बन्नुपर्छ ।’ नेपाली उद्योगले खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानकको प्रमाणपत्र पनि प्राप्त गर्नु पनि महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully