राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणका लागि सरकारले २०८४/८५ सम्मका लागि म्याद थपेको छ । तर काममा भइरहेको ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा शंका बढेको हो ।
What you should know
सुर्खेत — तोकिएको समयभन्दा झण्डै एक वर्षअघि पहिलो चरण (सुरुङ निर्माण) को काम सकिएको भेरी बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो र तेस्रो चरणको काममा ढिलाइ भएको छ । दसैं-तिहारलगायत कारण आयोजनाको काम झण्डै एक महिना रोकियो भने निर्माणस्थलमा न्यून प्राविधिक र कामदार हुँदा काम सुस्त बनेको हो ।
राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणका लागि सरकारले २०८४/८५ सम्मका लागि म्याद थपेको छ । तर काममा भइरहेको ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा शंका बढेको छ । पहिलो चरणको काममा दैनिक ३ सय जनाले काम गरेको आयोजनामा अहिले करिब ७५ जना मात्र कामदार खटिएका छन् ।
‘अहिले भइरहेको काममा दक्ष कामदार नै चाहिने भएकाले कर्णाली बाहिरका कामदार मात्र परिचालित छन्, अहिले तीन ठाउँमा काम भइरहेको छ, जसमा २५/२५ जनाले काम गरिरहेका छन्,’ आयोजना प्रमुख रणबहादुर बमले भने, ‘चाडवर्वका कारण बन्द भएको काम २/३ दिनदेखि सुरु भएको छ, अब कामले गति लिन्छ ।’
आयोजनामा अहिलेसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आयोजनाका अनुसार टनेल निर्माणको काम शतप्रतिशत सम्पन्न भएको छ भने सिभिल निर्माणको काम ५५ प्रतिशत, हाइड्रोमेकानिकल ३९ प्रतिशत, इलेक्ट्रोमेकानिकल ३० प्रतिशत र प्रसारण लाइन निर्माणमा ५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख बमले जानकारी दिए ।
तर पहिलो चरणको कामले गति लिएको आयोजनाको दोस्रो र तेस्रो चरणको काममा ढिलाइ हुँदा समयसँगै लागत बढ्ने देखिएको एक इन्जिनियरले बताए । उनका अनुसार आयोजना अघि बढाउँदा ३३ अर्ब लागत लाग्ने अनुमान गरिएकामा अहिले लागत झण्डै ४५ अर्ब पुग्ने अनुमान गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ बाट सुरु गर्ने भनिएको आयोजना २०७१/०७२ बाट मात्र सुरु गरेको थियो । पहिलो चरणमा २०७६ चैत १५ गतेसम्म सुरुङ निर्माण गर्ने गरी चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो । कम्पनीले करिब १२.२ किलोमिटर लामो सुरुङ आफूलाई दिएको म्यादअघि नै सम्पन्न गरेको थियो । सुरुमा २०७९/८० सम्म सम्पन्न गर्ने गरी थालिएको आयोजनाको म्याद ५ वर्षका लागि थपिएको हो । तर अहिलेको प्रगति हेर्दा तोकिएको समयमा काम नसकिने देखिएको भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।
‘सरकारले बजेट पनि विनियोजन गरेकै छ, तर आयोजनास्थलमा त्यति कामको चाप देखिँदैन,’ उनले भने, ‘आयोजना पूरा भए कर्णालीको विकासमा ठूलो सहयोग पुग्छ, त्यसैले समयमै सक्नेगरी सबै पक्ष लाग्न जरुरी देखियो ।’ उनका अनुसार बजेटको अख्तियारी समयमै नआउनु, सुरुङ निर्माणपछि मात्र बाँध निर्माणको काम थालिनु, कोरोना महामारी, आयोजनामा काम गरिरहेको विदेशी कम्पनी कालोसूचीमा पर्नुलगायत कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको हो ।
गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले आयोजना समयमै सम्पन्न नहुने हो कि भन्ने शंका हुन थालेको बताए । आयोजनामा परामर्शदाताका रूपमा काम गरिरहेको इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनियरिङ (एमजीसीई) सँग २०७६ असोजमा गरिएको सम्झौता २०७९ माघमा रद्द भएको थियो । जसले गर्दा पनि आयोजना निर्माणको काममा बाधा पुग्यो ।
आयोजनामा अहिले दोस्रो र तेस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरू भइरहेका छन् । अहिले सुर्खेतको चिप्लेमा हेडवक्स निर्माणको काम भइरहेको प्रमुख बमले बताए । त्यस्तै फाउण्डेशसन, कोफर्ड ड्याम, एंकर ब्लक निर्माणलगायतको काम पनि धमाधम भइरहेको उनले जानकारी दिए ।
चिप्लेमा बाँधको कामसँगै बबईतर्फको हात्तीखालमा विद्युत्गृहको जग खन्ने काम पनि भइरहेको उनको भनाइ छ । दोस्रो चरणका कामको जिम्मा रमण/ग्वाङडोन जेभीले लिएको छ । आयोजनाका लागि चालु आर्थिक वर्षमा झण्डै १ अर्ब ७७ करोड रुपैयाॅ विनियोजन भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झण्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित आयोजनाको काम भइरहेको हो । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । कोरोनाको कारण झण्डै २ वर्ष आयोजनाको काम प्रभावित हुन पुग्यो । आयोजनामा अहिलेसम्म झण्डै १७ अर्व रुपैयाँ खर्च भएको छ ।
आयोजनाले उत्पादन गरेको विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सरकारको योजना छ । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको आयोजना प्रमुख बमले बताए । भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा बाँध निर्माणको काम भइरहेको छ । जहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।
आयोजना सञ्चालनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्ने आयोजनाको अनुमान छ । जसका लागि झण्डै ८ हेक्टर जग्गाको मुआब्जा वितरण गरिसकेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनाको काम तोकिएकै समयमा सक्ने गरी प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय भइरहेको बताए ।
