सल्यानबाट एक वर्षमै २९ करोडको आलु निकासी

सल्यानमा एक वर्षमा १ अर्ब ७१ करोड बराबरको आलु उत्पादन भएको छ भने २९ करोड रुपैयाँ बराबरको निकासी भएको छ ।

कार्तिक २३, २०८२

विप्लव महर्जन

Potato exports worth Rs 290 million from Salyan in one year

What you should know

सल्यान — बाग्चौर नगरपालिका १२ बाँफुखोलाका ५२ वर्षीय किसान डिल्ली ओली तीन दशकदेखि व्यावसायिक आलु खेतीमा लागेका छन् । पाँच रोपनी जग्गामा आलु लगाउँदै आएका उनले प्रत्येक वर्ष ७० देखि सय क्विन्टल आलु उत्पादन गरेर बिक्री गर्दै आएका छन् । उनले वार्षिक ५ लाख बढी कमाउँदै आएको बताउँछन् ।

बाफुखोलाकै ४९ वर्षका वीरसिंह ओलीले दुई दशकदेखि अन्य बाली लगाउन छाडेर ७ रोपनी जग्गामा आलु लगाउँदै आएका छन् । आलु बिक्री गरेर वार्षिक ४ लाखसम्म कमाउने उनको दाबी छ । आलुबाट कमाएको रकमले नै उनले सात जनाको परिवार सजिलै पाल्दै आएका छन् । आलु खेतीमा लागेपछि उनलाई गत दुई दशकदेखि घरमै रोजगारी मिलेको छ । 

यी दुई मात्र नभई सल्यानमा १० वटै पालिकाका किसान व्यावसायिक आलु खेतीमा लागेका छन् । व्यावसायिक आलु खेतीमा लागेका किसानले आव ०८१/०८२ मा १ अर्ब ७१ करोड ४२ लाख रकम बराबरको ५२ हजार ३ सय ५१ मेट्रिक टन आलु उत्पादन गरेका छन् । २९ करोडको ८ हजार ८ सय ६४ मेट्रिक टन निकासी गरेका छन् । 

जिल्लाका १० स्थानीय तहका किसानले २ हजार ७ सय ५ हेक्टरमा वर्षे र १ हजार ७ सय ३० हेक्टरमा हिउँदे गरी ४ हजार ४ सय ३५ हेक्टर जमिनमा आलु लगाएका थिए । वर्षे ३२ हजार ६५ र हिउँदे २० हजार २ सय ५० गरी ५२ हजार ३ सय ५१ मेट्रिक टन आलु उत्पादन भएको थियो । किसानले उत्पादन गरेको आलु सुर्खेत, दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज निकासी भएको थियो । 

वार्षिक करोडौंको आलु उत्पादन गरी जिल्ला बाहिर निकासी गर्न थालेपछि जिल्लाबासीलाई जीविकोपार्जनमा सहज मात्र भएको छैन, धेरैको आर्थिक अवस्थामा पनि सुधार आएको छ । आलु खेतीले धेरैलाई घरमै रोजगारी मिलेको छ । विगतमा घरखर्चका लागि भारतका विभिन्न स्थानमा गएर मजदुरी गर्दै आएका जिल्लाका किसान व्यावसायिक रूपमा आलु उत्पादनमा लागेपछि रोजगारीका लागि भारतका विभिन्न स्थानमा जान छाडेका बताउँछन् । 

बाग्चौर नगरपालिका–११ र १२ बाँफुखोलाका किसानले १ हजार बढी हेक्टर जग्गामा वर्षे आलु उत्पादन गरेर वार्षिक १२ करोड बढी भित्र्याउँदै आएको किसान रतिराम ओलीले बताए । दुई वडाका ६ सय बढी परिवार विगतदेखि आलु खेतीमा लागेको उनले जानकारी गराए । उनका अनुसार विगतमा बाँफुखोलाका किसान भारतको सिम्लामा परिवारसहित गएर मजदुरी गर्न बाध्य हुँदै आएका थिए । व्यावसायिक आलु खेतीमा लागेपछि सबैलाई घरमै रोजगारी मिलेको छ भने आर्थिक अवस्थामा सुधार आएको छ । 

बन्गाड कुपिण्डे नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर घर्तीले चौर गाउँका ७५ घर किसान परिवारले ३ सय रोपनीमा वर्षे आलु खेती गरेर वार्षिक २ करोड २५ लाखको आलु निकासी गर्दै आएको बताए ।

उत्पादित आलु सबै किसानले सुर्खेत लगेर बिक्री गर्दै आएको उनले जानकारी गराए । ‘विगतदेखि नुन, तेल जोहो गर्न र दैनिक तरकारीका लागि वर्षे आलु खेती गर्दै आएका किसानले एक दशकयता मात्र व्यावसायिक रूपमा लागेका हुन् । अहिले प्रत्येक घरले ६० देखि एक सय क्विन्टल आलु बिक्री गर्दै आएका छन् । जिल्लाको विकट बस्ती भए पनि व्यावसायिक रूपमा उत्पादन गरेको आलुबाटै सबै किसानलाई खर्च गर्न सहज भएको छ,’ उनले भने । 

कषि विकास कार्यालय सल्यानका सूचना अधिकारी चिरञ्जीवी श्रेष्ठले विगतमा तरकारीका लागि मात्र सीमित ठाउँमा लगाइने आलु व्यावसायिकतासँगै क्षेत्रफल बढेपछि धेरै रकम बराबरको आलु उत्पादन हुन थालेको बताए । १ अर्ब ७१ करोडको आलु उत्पादन हुने भए पनि धेरै आलु जिल्लाभित्रै खपत हुने गरेको उनले जानकारी गराए ।

जिल्लामा उत्पादित आलु सुर्खेत, दाङ, पोखरा र काठमाडौंसम्म माग बढेको उनको भनाइ छ । किसान आलु उत्पादनमा लागेपछि कार्यालय पकेट क्षेत्र विस्तार गरेर किसानलाई अनुदान लगायतका उपकरण सहयोग गर्दै आएको उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully