नागढुंगा सुरुङमार्ग सञ्चालनमा अन्तर्राष्ट्रिय सेवा प्रदायक छानिँदै

माघ अन्तिमसम्म नभए फागुन पहिलो साताबाट सुरुङ सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाको दाबी छ ।

कार्तिक २३, २०८२

विमल खतिवडा

International service provider being selected for operation of Nagdhunga Tunnel

What you should know

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छानिने भएको छ । त्यसका लागि आयोजनाले १६ कात्तिकमा बोलपत्र आह्वान गरिसकेको छ । यसअनुसार सुरुङ सञ्चालनको जिम्मा अन्तर्राष्ट्रिय सेवा प्रदायकले पाउनेछ ।

आयोजनाले अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाटै सुरुङमार्ग सञ्चालनमा ल्याउने जनाएको थियो । तर सेवा प्रदायक छनोटमा ढिलाइ हुँदा सञ्चालनको समय पछि धकेलिएको हो । माघ अन्तिमसम्म नभए फागुन पहिलो साताबाट भने सुरुङ सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाको दाबी छ ।

सेवा प्रदायक छान्न ४५ दिनको समय दिएर सूचना निकालिसकिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले बताए । ‘२ पुसमा सेवा प्रदायक छनोटको बोलपत्र खोल्छौं, यो अन्तर्राष्ट्रिय बोलपत्र हो,’ उनले भने, ‘त्यसपछि मूल्यांकनको काम टुंग्याउन थप एक महिना लाग्छ । त्यसैले प्रक्रिया टुंग्याउनै तीन महिना लाग्छ ।’ बिडरको संख्या धेरै भए मूल्यांकनको काम टुंग्याउन थप समय लाग्न सक्ने नेपालको भनाइ छ ।

‘यो बोलपत्र खोलेपछि गर्ने काम हो,’ नेपालले भने, ‘१५ पुसबाट सुरुङ सञ्चालन गर्ने तयारीमा थियौं । तर त्यो समयमा सबै काम सकिने अवस्था भएन ।’ १६ माघसम्म सेवा प्रदायक छनोटको मूल्यांकन प्रक्रिया टुंग्याउने प्रयास गरिने नेपालले जनाए ।

धादिङतर्फ सुरुङको मुख नजिकै रहेको पहिरो व्यवस्थापन आयोजनाका लागि चुनौती बनेको छ । ‘पहिरो व्यवस्थापनको काम पनि सेवा प्रदायक छनोट गर्ने बेलासम्म सक्छौं । किनकि यी दुवै काम सँगसँगै हुन्छ,’ नेपालले भने, ‘त्यसपछि सबै काम पूरा गरेर सार्वजनिक रूपमा सुरुङ खुला गर्छौं ।’

पहिरोको रोकथाम गर्ने गरी डिजाइनको काम जापानिज परामर्शदाताबाट भइरहेको नेपालले सुनाए । ‘सुरुङभित्र जडान गरिएको सीसी क्यामेरा, लाइट, जेट फ्यानलगायत जडान गरिएका उपकरणको परीक्षण भइसकेको छ,’ उनले भने, ‘पहिरो व्यवस्थापनका लागि परामर्शदाताले विभिन्न विकल्प दिएका छन् । केही दिनभित्रै प्रक्रियागत रूपमा टुंगो लगाएर यसको काम थाल्छौं ।’

International service provider being selected for operation of Nagdhunga Tunnel

अहिलेसम्म सुरुङ निर्माण ९७ प्रतिशत सकिसकेको र पहिरो व्यवस्थापनको काम मात्र बाँकी रहेको नेपालले बताए । गत असोजमा परेको पानीले धादिङतर्फ सुरुङको मुख नजिकै पहिरो खसेर समस्या थपिदिएको आयोजनाले जनाएको छ । त्यस्तै टोल प्लाजा र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) गेट बन्दै छ । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सरकारले शुल्क तोकिसकेको छ । सडक बोर्ड नेपालको प्रस्तावमा गत २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकबाट शुल्क लागू गर्न स्वीकृति दिइसकेको छ । सुरुङ सञ्चालनमा वार्षिक २५ देखि ३० करोड लाग्ने अनुमान छ ।

सवारी साधनहरूले सुरुङ प्रयोग गरेबापत शुल्क उठाइनेछ । सरकारले तोकेको शुल्कअनुसार कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ । त्यस्तै मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको भनाइ छ ।

बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत २५ चैतमा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।

४ कात्तिक २०७६ मा यसको निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र यसको काम सक्नुपर्ने हो । कोभिड र स्थानीयको पटकपटकको अवरोधका कारण समयमै आयोजना सम्पन्न गर्न ढिला भएको सडक विभागले जनाएको छ । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्‌कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ  । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully