चिनियाँ अधिकारीले जाँचपासमा ढिलाइ गर्दा न्यालम, खासा लगायतका बजार क्षेत्रमा करिब ६ सय कन्टेनर अड्किएका छन् ।
What you should know
सिन्धुपाल्चोक — चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनरको जाँचपासमा ढिलाइ हुँदा ती कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार जाँचपासमा भएको ढिलाइका कारण न्यालम, खासा लगायतका बजार क्षेत्रमा करिब ६ सय कन्टेनर अड्किएका छन् । 'दसैं–तिहारअघि देखिको समस्या अझै समाधान भएको छैन। ढिलाइका कारण करोडौं मूल्यका सामान बोकेका कन्टेनर चीनमै थन्किएका छन्। व्यापारी आजित भएका छन्, सरकारले तत्काल पहल गर्नुपर्छ,' उनले भने।
व्यवसायीहरूका अनुसार फलफूल, कपडा र दैनिक उपभोग्य वस्तुभन्दा विद्युतीय सवारीसाधनको जाँचलाई प्राथमिकता दिइँदा अन्य कन्टेनर रोकिएका हुन्।
रसुवा नाका २४ असारदेखि बन्द रहँदा सम्पूर्ण व्यापार तातोपानी नाकातर्फ 'डाइभर्ट' भएको छ। तर, पहिरोका कारण कोदारी सडक करिब दुई महिना अवरुद्ध हुँदा चाडपर्वका लागि ल्याइएका सामग्री लामो समय उतै थन्किए । दसैंअघि केही कन्टेनर मात्र मुस्ताङस्थित कोरोला नाकाबाट नेपाल भित्रिएका थिए।
फलफूलजस्ता वस्तुलाई ‘ग्रिन च्यानल’ प्रणालीअन्तर्गत छिटो क्लियरेन्स दिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । तर चिनियाँ भन्सार अधिकारीहरूले त्यस्ता वस्तुमा समेत अनावश्यक ढिलाइ र अलमल गरिरहेका कारण व्यापारी आजित बनेका छन्। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार ढिलाइ चीनतर्फकै प्रक्रियामा भएको हो। 'नेपालतर्फ कुनै समस्या छैन, समस्या उतानै देखिन्छ,' उनले भने ।
व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार चीनको भन्सार क्षेत्रमा मात्रै १ सय ७० कन्टेनर रोकिएका छन्। 'लिपिङ मितेरीपुलदेखि खासाको रमितेसम्म करिब ११७ कन्टेनर सडकमा पार्क छन्,' उनलेे भने ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजूले तीमध्ये अधिकांशमा फलफूल, बच्चाका कपडा, रेडिमेड सामग्री, विद्युतीय उपकरण र न्यानो लुगारहेको उनलेे जनाए । हाल दैनिक औसत १३–१५ कन्टेनर मात्र प्रवेश गरिरहेका छन् । न्यालमदेखि मिम्बुसम्म झन्डै चार सय कन्टेनर अड्किएको उनको भनाइ छ ।
