पुराना पुलको दुवैतर्फ सडक विभाग र प्रहरी राखेर ओभरलोड सवारीसाधन सञ्चालन हुन दिइएको छैन ।
What you should know
परासी — अधिक भारका कारण ३० वैशाखमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल भाँचियो । १५ दिनभित्र मर्मत गरेर यातायात सञ्चालन गर्ने लक्ष्य राखेको सडक विभागले पुल मर्मत गरेर २४ जेठमा यातायात सञ्चालनमा ल्यायो । पुलको तल टेको लगाएर यातायात सञ्चालनमा ल्याइए पनि यसले ठूला सवारीको भार थेग्न सक्ने अवस्था छैन ।
पूर्व–पश्चिम राजमार्ग निर्माणका क्रममा बनेका प्रायः पुल जीर्ण अवस्थामा छन् । अहिलेका सवारीसाधनले बोक्ने भारवहन क्षमता थेग्न नसक्दा पटक–पटक पुराना पुल भाँचिएर यात्रुले सास्ती भोगिरहेका छन् । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासी खण्डमा पर्ने प्रायः पुल पनि जीर्ण छन् । जसका कारण समयमा–समयमा पुल भासिने र भाँचिने समस्याले गर्दा यात्रुले महिनौंसम्म डाइभर्सन भएर यात्रा गर्नुपर्ने अवस्था छ ।
बुटवल–नारायणगढ सडक विस्तार भइरहेकाले यो पुरानो पुलसँगै नयाँ पुल पनि निर्माण भइरहेको छ । त्यसैले नयाँ पुल निर्माण सम्पन्न नहुँदासम्म पुरानो पुलको दुवैतर्फ सडक विभाग र प्रहरी राखेर ओभरलोड सवारीसाधन सञ्चालन हुन नदिन पहरा दिइएको छ । मालवाहक सवारीलाई रोकेर भार यकिन गर्ने, बढी भार रहेको भेटिएमा सामान झारेर तोकिएको तौल मात्र राख्न दिने गरिएको छ । जीर्ण र मर्मत गरिएका पुलमा एक पटकमा एकतर्फी ४० टन मात्र भारवहन क्षमता भएको सवारी सञ्चालन गर्न दिने गरेर सूचना टाँस गरिएको छ । सोहीअनुसार २४ सै घण्टा पुलमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।
नयाँ पुल निर्माण भएर सञ्चालन नहुँदासम्म पुलमा सुरक्षाकर्मी नै तैनाथ गरेर बढी भार भएका सवारी गुड्न नदिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काले बताए । चोरमाराको गिरुबारी पुल र अरुण खोलाको पुलमा पनि चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
सुरक्षाकर्मी परिचालन नगर्दा बढी भार भएका सवारी गुडेर पुलमा क्षति पुग्यो भने समस्या हुने भन्दै पुलको सुरक्षामा विशेष चासो दिएको हो । यसै गरेर पूर्व–पश्चिम राजमार्गको दुम्कीबासमा रहेको विनयी खोलाको पुल २६ पुस २०८१ मा भाँचिएको थियो । भाँचिएको पुल अहिलेसम्म मर्मत भएको छैन । सोही स्थानमा सडक विस्तारका क्रममा निर्माण भएको नयाँ पुलबाट सवारी आवतजावत भइरहेको छ ।
बुटवल–नारायणगढ सडकखण्डअन्तर्गतका पुल ‘ट्रस्ट ब्रिज’ ५० वर्षभन्दा पुराना हुन् । पूर्व–पश्चिम राजमार्ग निर्माणका क्रममा तत्कालीन समयमा सवारी सञ्चालनको चाप र तिनले बोक्ने भार क्षमताअनुसार निर्माण गरिएको पुल हो । अहिले आधुनिक सवारी र पहिलेको भन्दा चौगुना बढी भारवहन क्षमता भएका सवारीलाई पुराना पुलको संरचनाले थेग्न नसक्ने अवस्था छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले भने, ‘पुलमा क्षति पुग्यो भने समस्या हुने भएकाले पुलमा सुरक्षा दिइएको होला ।’
