हेलम्बुमा फेरि फल्न थाल्यो स्याउ

स्याउको बिमा र प्राविधिक खर्चका लागि योजना बनाउने गाउँपालिकाको तयारी छ ।

कार्तिक २२, २०८२

अनिश तिवारी

Apples are starting to grow again in Helambu

What you should know

काठमाडौँ — साढे तीन दशकअघिसम्म हेलम्बुको स्याउको चर्चा निकै हुन्थ्यो । हेलम्बुको चिनारी नै स्याउ थियो । ०४१/४२ सालबाट स्याउमा रोग लाग्यो । फल्न छाडेपछि किसानले स्याउको बोटै काटेर दाउरा बनाएर प्रयोग गरे । स्याउको बखान कथा जस्तो भयो ।

अब भने हेलम्बुमा फेरि स्याउ फल्न थालेको छ । स्याउको चिनारीलाई कायम राख्न यहाँका बासिन्दाले दशकअघि थालेको प्रयासले फल्न थालेको हो ।

लोभलाग्दा स्याउका बोटले गाउँकै मुहार फेरिएजस्तो भएको छ। यहाँ हजारभन्दा बढी उन्नत प्रजातिका स्याउका बिरुवा रोपिएका छन् । भारतको हिमाचल प्रदेशबाट ल्याएको बिरुवाबाट खेती सुरु गरिएको हो । स्याउ फलेपछि कृषक थप जाँगरिला बनेका छन् ।

'अहिलेसम्म हेलम्बु क्षेत्रमा ६० परिवारले स्याउ खेतीलाई व्यावसायिक खेतीका रूपमा अघि बढाएका छन् । बिक्री गर्न भने थालिएको छैन । बल्ल फल्न थालेको छ,' हेलम्बु गाउँपालिका-५ का वीरजित तामाङले भने ।

ल्ह्योल्मो जातिको बस्तीका रूपमा रहेको पर्यटकीय गाउँहरूमा धमाधम स्याउ फल्न थालेपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् । खेतभर लगाइएका फुजी र गाला प्रजातिका ११ बोटमा लटरम्म स्याउ फलेको तामाङले बताए । 'एकै जनाले २ सय बिरुवासम्म रोपेका छन् । नयाँ पुस्तालाई पनि स्याउ फल्छ भन्ने विश्वास भएको छ , मैले १५ सय केजी स्याउ बेच्ने लक्ष्य राखेको छु ,'उनले भने ।

हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाका अनुसार स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ । आगामी वर्षदेखि गाउँपालिकाले स्याउ विकास कार्यक्रम तयार गर्नेछ ।आगामी वर्ष स्याउको बिमा र प्राविधिक खर्चका लागि गाउँपालिकाले योजना बनाउने अध्यक्ष शेर्पाले जानकारी दिए । 'हाल हेलम्बु  ५ बुम्बो डाँडा र अन्यतिर पालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरेको छ, यहाँ लटरम्म स्याउ फलेको छ,' उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully