टानले बिहीबार विज्ञप्ति जारी गर्दै असामान्य वर्षा र हिमपातका कारण पदयात्रा मार्गहरूमा देखिएका अवरोध र कठिनाइका कारण पर्यटक, ट्रेकिङ गाइड, सहायकहरू तथा स्थानीय समुदायको जनजीवन प्रभावित बनेको उल्लेख छ।
What you should know
काठमाडौँ — हालैको वर्षा र हिमपातका कारण मनास्लु तथा रोल्वालिङ क्षेत्रलगायतका हिमाली पदयात्रा मार्गहरूमा परेको विपद्ले पर्यटन क्षेत्रमा गम्भीर असर पुर्याएको भन्दै ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) ले आवश्यक समन्वय र तयारीका लागि सबै पक्षलाई सचेत गराएको छ।
टानले बिहीबार विज्ञप्ति जारी गर्दै असामान्य वर्षा र हिमपातका कारण पदयात्रा मार्गहरूमा देखिएका अवरोध र कठिनाइका कारण पर्यटक, ट्रेकिङ गाइड, सहायकहरू तथा स्थानीय समुदायको जनजीवन प्रभावित बनेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षको असामान्य मौसमी परिवर्तनका कारण मनास्लु र अन्य हिमाली क्षेत्रका पदमार्गहरूमा अवरोध सिर्जना भएको छ। यसले पर्यटन व्यवसायमा ठूलो चुनौती खडा गरेको छ ।’
टानले मौसम पूर्वानुमान र चेतावनी प्रणालीलाई अझ प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता औंल्याएको छ। साथै, विपद्का समयमा पर्यटक र गाइडहरूलाई शीघ्र उद्धार र सुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, हेलिकप्टर सेवा, स्थानीय निकाय र पर्यटन व्यवसायीबीच तत्काल समन्वय गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा ‘ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) लाई अझ प्रभावकारी बनाउन, पदयात्रा क्षेत्रमा ‘गन्तव्य र स्थान’ सम्बन्धी विवरण अभिलेख गर्ने प्रणालीलाई मजबुत पार्नुपर्ने आवश्यकता’ रहेको भनिएको छ ।
टानका अनुसार, पछिल्ला केही वर्षयता मौसमजन्य विपद्, हिमपहिरो, र असामान्य वर्षाका कारण पर्यटकहरूको आवागमनमा गिरावट आएको छ। यसले स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटन सञ्जालमा प्रत्यक्ष असर पारेको छ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘नेपालका पदयात्रा मार्गहरू विश्वमै आकर्षक भए पनि यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न सकिएन भने पर्यटन क्षेत्र थप प्रभावित हुने सम्भावना छ। सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य बनेको छ।’
टानले नेपाल पर्यटन बोर्ड, स्थानीय प्रशासन र पर्यटन सरोकारवाला निकायहरूसँग समन्वय गर्दै पदयात्रा क्षेत्रका सुरक्षात्मक, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कामलाई तत्काल प्रभावमा ल्याउन आग्रह गरेको छ। साथै, आगामी मौसमका लागि समग्र सुरक्षा मापदण्डलाई पुनःसमीक्षा गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ।
