पुरानो टर्मिनलले बढ्दो यात्रु संख्या र भविष्यको हवाई माग पूरा गर्न नसकेपछि नयाँ टर्मिनल निर्माण गरिएको हो ।
What you should know
नेपालगन्ज — लुम्बिनी प्रदेशको मुख्य हवाई प्रवेशद्वारका रूपमा परिचित नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ ।
पुरानो टर्मिनलले बढ्दो यात्रु संख्या र भविष्यको हवाई माग पूरा गर्न नसकेपछि नयाँ टर्मिनल निर्माण गरिएको हो ।नयाँ भवनको शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिककणका महानिर्देशक प्रदीप अधिकारी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला र हवाई यातायात क्षमता आयोजनाका आयोजना निर्देशक दीपेन्द्र श्रेष्ठ लगायतलाई ठेक्दार कम्पनी शर्मा एन्ड कोका प्रबन्ध निर्देशक रमेश शर्मा लगायतले अवलोकन गरे।
यो विमानस्थलले लुम्बिनी प्रदेशका करिब १६ वटा जिल्लालाई सेवा पुर्याउँछ र दुर्गम हिमाली क्षेत्रहरूलाई सिधा हवाई मार्गद्वारा जोड्ने महत्वपूर्ण केन्द्रको रूपमा रहेको छ ।
नयाँ टर्मिनल भवनले आगामी दिनमा आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना पनि बढाउने महानिर्देशक अधिकारीले पत्रकार सम्मेलनमा बताए । यसले प्रदेशको आर्थिक, सामाजिक र पर्यटन विकासमा नयाँ गति ल्याउने उनको विश्वास छ ।
नयाँ टर्मिनल भवन ५०७४.३१ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । भवन तीनतले र तीन ब्लकमा विभाजित छ, जसमा बेसमेन्ट २३६९ वर्गमिटर, ग्राउन्ड फ्लोर ९३.९ वर्गमिटर र पहिलो तलामा १४५९.४१ वर्गमिटर व्यावसायिक क्षेत्र रहेको छ। यस व्यावसायिक क्षेत्रले राजस्व उत्पादनमा सहयोग पुर्याउने भनिएको छ ।
भवनमा यात्रुहरूको सहजता र सुरक्षाका लागि ३ वटा भीआईपी कोठा, क्रू कोठा, १४ वटा चेक–इन काउन्टर, ब्यागेज कन्भेयर प्रणाली, ४ वटा एस्केलेटर र ३ वटा लिफ्टहरू जडान गरिएको छ। यो भवन फरक क्षमताका यात्रुहरूका लागि पनि मैत्रीपूर्ण वातावरणमा डिजाइन गरिएको छ ।
भवनमा प्राकृतिक प्रकाशको अधिकतम उपयोगका लागि ओपन टु स्काइ डोम निर्माण गरिएको छ, जसले भवनलाई उज्यालो र ऊर्जा दक्षता बढाउँछ । शीतल वातावरणका लागि वाटर कर्टेन र मिस्टिङ प्रणाली जडान गरिएको छ। यसलाई नेपालमै नया प्रयोग भनिएको छ ।
यात्रुहरूको सहजताका लागि चिल्ड्रेन प्ले एरिया, पब्लिक एनाउन्समेन्ट सिस्टम, फायर हाइड्रेन्ट/स्प्रिंकलर र सीसीटीभी निगरानी प्रणाली जस्ता सुविधा पनि उपलब्ध छन्। यी सुविधाले यात्रुहरूको सुरक्षासँगै आधुनिक र व्यवस्थित अनुभव प्रदान गर्छन् ।
नयाँ टर्मिनल भवन निर्माणमा कुल लागत रु २ अर्ब ५० करोड रहेको छ। साथै, गेस्ट हाउसका लागि रु ५ करोड, ड्रेनेज प्रणालीका लागि रु २२ करोड, युटिलिटी ब्लकका लागि रु २ करोड, एप्रोन निर्माणमा रु ४ करोड, पेभमेन्टमा रु २ करोड, पार्किङ क्षेत्रका लागि रु ४ करोड र ल्यान्डस्केपिङका लागि रु ८ करोड गरी सम्पूर्ण लागत करिब रु २ अर्ब ९८ करोड रहेको छ ।
भवनसँगै निर्माण गरिएको युटिलिटी ब्लक मा एलटी प्यानल, समायोजित डिजेल जेनरेटर, फायर पम्प र वाटर ट्रिटमेन्ट प्लान्टजस्ता अत्यावश्यक पूर्वाधारहरू समावेश छन्। यस ब्लकलाई मुख्य टर्मिनलसँग ग्यांट्री मार्फत जोडिएको छ । जसले भविष्यमा थप केबल तथा सुविधाहरू जडान गर्न सहज बनाउँछ ।
नेपालगन्जमा औसत वार्षिक वर्षा १.१७२ मिटर रहेको छ । यसलाई ध्यानमा राखी २७७ वटा रिचार्ज पिट निर्माण गरिएको छन् । जसद्वारा वार्षिक करिब ९८०,००० लिटर वर्षा पानी भूमिगत जलाशयमा पुनर्भरण गर्न सकिनेछ ।
यस प्रविधिले भूमिगत जल संरक्षणमा ठूलो योगदान पुर्याउने र वातावरणीय सन्तुलन कायम राख्न सहयोग गर्ने प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताए ।
नयाँ टर्मिनल भवनले लुम्बिनी प्रदेश र सम्पूर्ण देशको हवाई यातायात सञ्जाललाई सुदृढ बनाउने महानिर्देशक अधिकारीले बताए । यसले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नेपालगन्ज विमानस्थलको यो नयाँ टर्मिनल भवनले आधुनिकता, संस्कृतिको झल्को र पर्यावरणीय सन्तुलनलाई एकसाथ समेट्दै यात्रुहरूका लागि सुरक्षित, सुविधाजनक र आकर्षक वातावरण सिर्जना गरेको छ ।
‘यस परियोजनाले नेपालगञ्जलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा रूपान्तरण गर्ने मात्र होइन, प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासमा ऐतिहासिक योगदान पुर्याउनेछ,’ महानिर्देशक अधिकारीले भने ।
