डोल्मालाई कर मुक्ति दिने निर्णयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राखे पनि अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले सच्याउने संकेत दिएका छैनन् ।
What you should know
काठमाडौँ — मोरिससमा दर्ता भएर नेपालमा दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने विवादास्पद निर्णयमा सरकार अडिग रहेमा नेपालले तत्कालको मूल्यमा कम्तीमा ८३ करोड रुपैयाँ राजस्व गुमाउने देखिएको छ ।
डोल्मालाई कर मुक्ति दिने निर्णयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राखे पनि अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले सच्याउने संकेत दिएका छैनन् ।
डोल्माले नेपालमा सस्तोडिल, फुडमान्डु, क्लाउड फ्याक्ट्री होल्डिङ्स, फ्युजमसिन्स, उपाय सिटी कार्गो, वर्ल्डलिंक, सेञ्चुरी मसला, सेतीखोला हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, सोलार फार्म, नेसनल पाथल्याब्स, निदान हस्पिटल, चिरायु अस्पताल र डस फर्मास्युटिकल्समा लगानी गरेको छ । डोल्माले लगानी गरेका धेरैजसो ‘स्टार्टअप’ घाटामा गएका छन् भने जलविद्युत् आयोजनामा भने उल्लेखनीय आम्दानी गरेको छ । तर मोरिसससँग दोहोरो करमुक्ति सम्झौता (सन्धि) भएकाले डोल्माले सेयर बिक्री गर्दा पुँजीगत लाभकर भने नलाग्ने गरी सरकारले निर्णय गरिदिएको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावर, फ्युजमसिन्स, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, उपाय सिटी कार्गो, वर्ल्डलिंक र सेतीखोला हाइड्रोपावरमा डोल्माले गरेको लगानी वृद्धि भएको छ । यी सबै कम्पनीमा २ करोड ५१ लाख ५० हजार अमेरिकी डलर (३ अर्ब ५७ करोड १३ लाख रुपैयाँ लगानी गरेकामा अहिले फेयर भ्यालु (सम्भावित न्यायिक मूल्य) वृद्धि भएर ४ करोड ८५ लाख ९० हजार अमेरिकी डलर (करिब ६ अर्ब ८९ करोड ९७ लाख ८० हजार रुपैयाँ) पुगेको छ । यस आधारमा ६ वटा कम्पनीबाट ३ अर्ब ३२ करोड ८४ लाख ८० हजार रुपैयाँ लाभ हुने देखिन्छ ।
नेपालको आयकर ऐन २०५८ अनुसार २५ प्रतिशत कर लागे ८३ करोड २१ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर नेपालले प्राप्त गर्नेछ । डोल्माले तत्काल मकर जितुमाया सुरी हाइड्रो पावरको सेयर बिक्री गर्न खोजेको छ । करिब २६ करोडमा किनेको सेयर अहिले बेच्दा डोल्माले करिब १ अर्ब १७ करोड ७८ लाख ६६ हजार ८ सय रुपैयाँ नाफा कमाउँछ । यसअनुसार कम्पनीलाई २९ करोड ४४ लाख ६६ हजार ७ सय रुपैयाँ पुँजीगत लाभकर कर लाग्छ । तर, सरकारले कर छुट दिने निर्णय गरिसकेकाले अब कम्पनीले उल्लिखित सबै रकम कर छुट पाउनेछ ।
नेपाल र मोरिससको सम्झौताअनुसार हामीलाई कर लाग्दैन : डोल्मा इम्प्याक्ट फन्ड
डोल्माले पनि नेपाल र मोरिससबीचको दोहोरो करमुक्ति सम्झौता (डीटीएए) १९९९ अनुसार आफूहरूका लागि नेपालमा आयकर ऐन २०५८ को प्रावधान लागू नहुने दाबी गरेको छ । उक्त सम्झौता (सन्धि) अनुसार सेयर बिक्रीबाट प्राप्त हुने लाभमाथि स्रोत देश (नेपाल) मा नभई केवल सम्बन्धित बासिन्दा देश (मोरिसस) मा मात्र कर लाग्ने डोल्माको जिकिर छ ।
मोरिससले नेपालजस्ता विकासोन्मुख देशहरूसँग दोहोरो करमुक्ति सम्झौता (डीटीएए) गरेको र त्यस्तो सन्धिले लगानीकर्ताको हितको सुरक्षा गरेको पनि डोल्माको भनाइ छ । ‘डोल्मा मोरिससको कानुनी बासिन्दा भएकाले सेयर बिक्रीमा नेपालमा कर लगाउन सकिँदैन, नेपालले पछिल्ला दिनमा गरेका अन्य सन्धिमा व्यवस्था भएजस्तो मोरिसससँग भएको सन्धिअनुसार पुँजीगत लाभकर दाबी गर्न सक्दैन’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै उक्त सन्धि नेपालको आयकर ऐन २०५८ भन्दा पनि पुरानो भएकाले पनि ऐनका व्यवस्था आकर्षित हुन सक्दैन ।’
त्यस्तै सन्धि ऐन, २०४७ को दफा ९ ले आन्तरिक कानुनसँग बाझिएको खण्डमा नेपालले हस्ताक्षर गरेको सन्धिको प्रावधानले प्राथमिकता पाउँछ भनेर स्पष्ट भनिएकाले सोहीअनुसार हुने कम्पनीको दाबी छ । यही कानुनलाई पालना गरेकामा डोल्माले नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ । ‘दोहोरो करमुक्ति सम्झौताका सर्त पालना गरेकामा नेपाल सरकारप्रति आभार प्रकट गर्दछौं, कानुनको सही पालनाले अन्तर्राष्ट्रिय लगानी समुदायलाई सकारात्मक सन्देश दिनेछ भन्ने हामी विश्वास गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
डोल्माले अलग–अलग देशका लगानीकर्ताबाट संकलित पुँजी परिचालन गर्न मोरिससमा पूर्ण रूपमा नियमन र प्रमाणित निजी इक्विटी कोष स्थापना भएको भन्दै कम्पनीले भनेको छ, ‘जसका गतिविधि बेलायतको एफसीए जस्ता नियामक निकायद्वारा पनि नियमन गरिन्छन् । यो अज्ञात लगानीकर्तासहितको सेल कम्पनी होइन ।’
