नेपाल दिगो पर्यटन विकासका लागि प्रतिबद्ध छ : सीईओ जोशी

‘हामी अब यस्तो मोडमा छौं जहाँ वातावरणीय संरक्षण, स्थानीय सहभागिता, र आर्थिक दिगोपनबीच सन्तुलन कायम गर्न अपरिहार्य छ। नेपाल यस दिशामा पूर्ण रूपमा प्रतिबद्ध छ।’-सीईओ जोशी

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Nepal is committed to sustainable tourism development: CEO Joshi

What you should know

काठमाडौँ — नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालले जिम्मेवार र दिगो पर्यटन विकासका लागि आफ्नो प्रतिबद्धता स्पष्ट रूपमा प्रदर्शन गरिरहेको बताएका छन्।

लन्डनको एक्सल लन्डनमा सम्पन्न विश्व पर्यटन बजार (डब्लूटीएम)–२०२५ का अवसरमा आयोजित ‘दिगो परिवर्तन : सर्कुलर अर्थतन्त्रमार्फत पर्यटन रूपान्तरण’ शीर्षकको छलफल सत्रमा सहभागी हुँदै प्रमुख कार्यकारी अधिकृत जोशीले नेपालको पर्यटन नीतिहरू दिगोपन, स्थानीय सशक्तिकरण, र वातावरणीय संरक्षणमा केन्द्रित भइरहेको उल्लेख गरे।

जोशीका अनुसार नेपाल अब केवल सतही ‘हरित’ पहलहरूमै सीमित नभई प्रणालीगत र मापनयोग्य परिवर्तनतर्फ अघि बढ्दैछ। उनले भने, ‘हामी अब यस्तो मोडमा छौं जहाँ वातावरणीय संरक्षण, स्थानीय सहभागिता, र आर्थिक दिगोपनबीच सन्तुलन कायम गर्न अपरिहार्य छ। नेपाल यस दिशामा पूर्ण रूपमा प्रतिबद्ध छ।’

छलफलमा पर्यटन क्षेत्र कसरी सर्कुलर अर्थतन्त्रको सिद्धान्तलाई आत्मसात् गर्दै स्रोतहरूको पुनःप्रयोग, फोहोर व्यवस्थापन, न्यून–कार्बन यातायातको प्रवर्द्धन, र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले विचार प्रस्तुत गरेका थिए।

ट्रोभ पर्यटन विकास संस्थाद्वारा आयोजना गरिएको उक्त सत्रमा विभिन्न देशका पर्यटन विज्ञ, नीति–निर्माता र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। छलफलमा विश्वका नयाँ अभ्यासहरू, उदाउँदा बजारहरूले भोगिरहेका चुनौतीहरू, तथा नीति निर्माणमा सामुदायिक सहभागिताको महत्त्वबारे विस्तृत विचार–विमर्श भएको थियो।

साथै, सहभागीहरूले कमजोर पूर्वाधार भएका गन्तव्यहरूमा न्यून–कार्बन गतिशीलता प्रवर्द्धन गर्ने उपाय, लगानी र सीप विकासको अभावका कारण देखा परेका चुनौतीहरू, र स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष लाभ पुर्‍याउने उपायबारे पनि सुझाव प्रस्तुत गरे।

कार्यक्रमको निष्कर्षमा पर्यटन क्षेत्रले अब सतही ‘हरित’ कार्यक्रमहरूमा सीमित नभई, दिगो विकासका वास्तविक र मापनयोग्य रूपान्तरणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याइएको छ । 

कान्तिपुर

Link copied successfully