सहकारी विभागमा चार महिनामा ३७ सय सहकारी संस्था मात्र दर्ता

सहकारी विभागले गत साउन १ देखि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धमा सहकारी क्षेत्रको सूचना संकलन गर्ने उद्देश्यले सबै प्रकारका सहकारी संस्थाहरूको दर्ता प्रक्रिया सुरु गरेको थियो ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Only 3,700 cooperatives registered with the Department of Cooperatives in four months

काठमाडौँ — सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सहकारी संस्थाहरूको तथ्यांक संकलन गर्न थाले पनि गएको झन्डै चार महिनामा ३ हजार ७ सय संस्था मात्र दर्ता भएका छन् ।

सहकारी विभागले गत साउन १ देखि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धमा सहकारी क्षेत्रको सूचना संकलन गर्ने उद्देश्यले सबै प्रकारका सहकारी संस्थाहरूको दर्ता प्रक्रिया सुरु गरेको थियो । त्यसका लागि छुट्टै गुगल फारम बनाएर अनलाइनमार्फत भर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको थियो । सोही प्रक्रियामा हालसम्म ३ हजार ७ सय सहकारी संस्था मात्र दर्ता भएको सहकारी विभागका रजिस्ट्रार उमेश ढुंगानाले जानकारी दिए ।

नेपालमा अहिले पनि सहकारी संस्था कति छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग पनि छैन । आर्थिक सर्वेक्षणमा करिब ३१ हजार सहकारी संस्था दर्ता रहेको र तीमध्ये करिब १५ हजार बचत तथा ऋण सहकारी रहेको बताइएको छ ।  तर, तथ्यांक अद्यावधिक गर्नका लागि विभागले सुरु गरेको दर्तामा निकै कम मात्र आउनुले संस्थाहरू कसरी चलेका छन्, तीनमा सुशासन कस्तो छ भन्ने पुष्टि हुने जानकारहरू बताउँछन् ।

निकै कम संस्थाहरुमात्र दर्ता हुन आएपछि सहकारी विभागले पटक पटक सूचना जारी गर्दै आएको छ । तर, निकै कम मात्र संस्थाहरू दर्ता भएका छन् ।

विभागले राष्ट्रिय तथ्यांक कार्यालयसँग मिलेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सहकारी क्षेत्रको योगदान गणना गर्ने तयारी पनि थालेको छ । त्यसका लागि पनि सहकारी संस्थाहरूको सूचना (तथ्यांक) अद्यावधिक गर्न लागेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully