अझै खुलेन रसुवागढी नाका

विद्युत् नहुँदा कोरलामा भन्सार जााचपास अवरुद्ध

कार्तिक १९, २०८२

विमल खतिवडा

Rasuwagadhi border checkpoint still not open

काठमाडौँ — चार महिनादेखि ठप्प रहेको रसुवागढी नाका सञ्चालनमा अझै समय लाग्ने भएको छ । अहिले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ल्हेन्दे खोलामा बेलिब्रिज निर्माणाधीन छ । पटक–पटक बाढी आइरहँदा र निर्माणका क्रममा पुल बाँगिएकाले समयमै काम सक्न समस्या भएको हो ।

गत २४ असारमा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पक्की पुल बगाएसँगै रसुवागढी नाका ठप्प बनेको थियो । पुल नबन्दासम्म नाका सञ्चालनको विकल्प नरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । ‘मंसिर दोस्रो सातासम्म पुल सञ्चालनमा आउने चिनियाँ पक्षबाट जानकारी पाएका छौं,’ उनले भने । 

निर्माणाधीन पुल बांगिएपछि बीच भागमा पिलर राखेर काम भइरहेको उनले बताए । ‘गत बिहीबार चिनियाँ पक्षसँग बैठक भएको थियो, सुरुमा १५ कात्तिकभित्र पुल निर्माण सक्ने उनीहरूको योजना थियो,’ उनले भने, ‘पुल बांगिएकाले थप समय लाग्ने जानकारी पाएका छौं ।’ 

चीनबाट तयारी वस्तु, स्याउलगायत फलफूल यो नाकाबाट आयात हुँदै आएको छ । दैनिक करिब एक सय कन्टेनर यो नाकाबाट ओहोरदोहोर गर्थे । सबैभन्दा धेरै विद्युतीय सवारीसाधन यही नाकाबाट भित्रिने गरे पनि अहिले आयात बन्द छ । ‘पुल नबनेपछि कार्यालय कुर्ने, बस्ने काम मात्र भएको छ,’ प्रमुख भन्सार अधिकृत भट्टराईले भने, ‘चाडबाडमा धेरै सवारीसाधन, तयारी वस्तु, फलफूल यो नाकाबाट भित्रिन्थ्यो, त्यो बेला राजस्व पनि अघिपछि भन्दा धेरै उठ्ने गर्थ्यो ।’ 

करिब चार महिनादेखि आयात बन्द रहेको र राजस्व संकलन शून्य रहेको उनले जानकारी दिए । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ४० अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको छ । ‘कात्तिक मसान्तसम्म १४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो,’ उनले भने, ‘नाका ठप्प रहेकाले नयाँ आर्थिक वर्ष सुरु भएयता राजस्व संकलन नै हुन सकेको छैन ।’ 

स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १६ किलोमिटर सडक अहिले एकतर्फी सञ्चालनमा छ । २४ असारमा भोटेकोशीमा आएको बाढीपछि यो सडक राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । बाढीले तलबाट सडक खोतल्ने गरेकाले पनि समस्या थपिएको हो । जटिल भौगोलिक बनावटका कारण सडक चौडा बनाएर सञ्चालनमा ल्याउन गाह्रो हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णनाथ ओझाले बताए । 

पुल बनेर नाका सञ्चालनमा आए पनि कन्टेनरले यही सडक प्रयोग गर्नुपर्ने अवस्था रहेको र उक्त सडकखण्ड निर्माण छिटो अघि बढाउन आवश्यक रहेको कुरा सम्बन्धित मन्त्रालयमा जानकारी गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । 

यस्तै, तिहारयता मुस्ताङ भन्सार कार्यालयमा भन्सार जाँचपास अवरुद्ध भएको छ । हिमपातसँगै आएको बाढीपछि विद्युत् आपूर्ति र इन्टरनेट सेवा बन्द हुँदा भन्सार जाँचपास रोकिएको हो । कागबेनीमा बाढीले विद्युत्का पोल बगाएको छ । भन्सार जाँचपास सुरु हुन अझै केही दिन लाग्ने मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले बताए । उनका अनुसार कोरला नाका जोड्ने सडकसमेत बाढीले बगाउँदा सामान लिन चीनतर्फ हिँडेका कन्टेनर कागबेनीमै रोकिएका थिए । मंगलबार दिउँसोबाट भने सडक सञ्चालनमा आएको उनको जानकार दिए । 

‘चीनबाट सामान लिएर आएका कन्टेनर र विद्युतीय गाडी भन्सार कार्यालयमा रोकिएका छन्,’ खड्काले भने, ‘विद्युत् र इन्टरनेट नहुँदा भन्सार जाँसपास हुन नसकेको हो ।’ उनका अनुसार सामान लिएर आएका एक सय कन्टेनर छन् ।

त्यस्तै विद्युतीय गाडी पनि एक सय भित्रिएका छन् । कोरला नाका गत २१ भदौदेखि सञ्चालनमा आएको हो । अहिलेसम्म यो नाकाबाट ३ अर्ब रुपैयाँ राजस्व उठेको छ । चीनको लिजीसम्म चीनकै कन्टेनरले सामान ल्याउँछन् । त्यसपछि नेपालबाट गएका कन्टेनरले त्यहाँबाट सामान लोड गरेर मुस्ताङको कोरालासम्म ल्याउने गरेका छन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully