पहिलो तीन महिनामै ६८ करोड मूल्यका दुई सय २९ ईभी भित्रिए
पर्सा — वीरगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा विद्युतीय सवारीसाधन (ईभी) को आयात ह्वात्तै बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयका तथ्यांक अनुसार यस अवधिमा यो नाकाबाट ६८ करोड ५ लाख रुपैयाँ मूल्य बराबरका दुई सय २९ वटा विद्युतीय जिप, कार र भ्यानहरू आयात भएका छन् । तिनको आयातबाट ४५ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यो नाकाबाट १४ करोड ४९ लाख रुपैयाँ मूल्य बराबरका ९७ वटा विद्युतीय जिप, कार र भ्यानहरू मात्र आयात भएका थिए । जसबाट नौ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
वीरगन्ज नाका नयाँ सवारीसाधन आयात हुने मुलुककै प्रमुख नाका हो । भारत तथा तेस्रो मुलुकमा निर्मित इन्धनबाट चल्ने सवारीसाधनका साथै ईभी पनि यो नाकाबाट उल्लेख्य संख्यामा भित्रिने गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीका अनुसार पछिल्ला तीन महिनामा चीनको ओपल र अमेरिकाको टेस्ला ब्रान्डका ईभीहरूको आयात बढेकाले समग्रमा यो नाकाबाट ईभी आयात वृद्धि भएको हो ।
उनले भने, ‘नेपालमा हाल यी दुई ब्रान्डका ईभीको अत्यधिक माग छ । यी दुवै ब्रान्डका ईभी नेपालमा वीरगन्ज नाकाबाट मात्रै आयात हुने भएकाले पनि यो नाकाबाट ईभीको आयात बढेको हो ।’
वीरगन्ज भन्सार अन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ । तर, त्यहाँ अहिलेसम्म एउटा पनि चार्जिङ स्टेसन नहुँदा सवारी आयातकर्तालाई समस्या भइरहेको छ ।
इन्टर मोडल यातायात विकास समितिले बन्दरगाह परिसरमा अन्य पूर्वाधार विस्तारसँगै एउटा चार्जिङ स्टेसन निर्माणको कार्य अघि बढाइरहेको समितिको वीरगन्ज कार्यालय प्रमुख कमल ज्ञवालीले जानकारी दिए । उनका अनुसार हाल चार्जिङ स्टेसन निर्माणको प्रक्रिया जारी छ ।
