खाद्यले १० क्विन्टलसम्म धान बिक्रीका लागि जग्गाधनी पुर्जा र नागरिकता मागेको छ । १० क्विन्टलभन्दा बढीका लागि वडा कार्यालयको सिफारिस चाहिन्छ ।
कञ्चनपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलो गरी धान खरिद सुरु गरेको छ । प्रायः किसानले सस्तोमा धान बिक्री गरिसकेपछि खाद्यले महेन्द्रनगरमा आइतबारदेखि धान खरिद थालेको हो ।
‘धेरैले त गाउँघरमै सस्तोमा धान बिक्री गरिसके, हामीले पनि अलि अलि बेच्यौं,’ भीमदत्त नगरपालिका–६ वनगाउँका कर्णसिंह मंगोलाले भने, ‘ढिलै भए पनि खाद्यले खरिद गर्न सुरु गरेको छ, बजारभन्दा राम्रो भाउ पाइन्छ भनेर यहाँ ल्याएका छौं ।’
गाउँमा किसानले प्रतिक्विन्टल २ हजार ४ सयदेखि २ हजार ६ सयसम्म बिक्री गरिरहेका छन् । खाद्यले धान खरिद गर्ने सूचना पाएपछि आइतबार बिहानैदेखि किसान अटो, ट्र्याक्टरलगायत साधनमा ढुवानी गरेर बिहानै पुगेका थिए । यति मात्रै होइन, धान बिक्रीका लागि टोकन लिन पनि किसान कार्यालय आउन थालेका छन् ।
खाद्यले १० क्विन्टलसम्म धान बिक्रीका लागि जग्गाधनी पुर्जा र नागरिकता मागेको छ । १० क्विन्टलभन्दा बढीका लागि वडा कार्यालयको सिफारिस चाहिन्छ । यसले किसानलाई केही झन्झट भने भएको छ ।
खाद्यले यस वर्ष महेन्द्रनगरमा ५ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । उसले प्रतिक्विन्टल मोटो ३ हजार ४ सय ६३ र मध्यम ३ हजार ६ सय ८८ मा खरिद गरिरहेको छ । किसानको चाप बढे कोटा थप्न केन्द्रमा आग्रह गरिने खाद्यको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख महिकरण महराले बताए । ‘गत वर्ष थोरै मात्र धान खरिद भएका कारण यस वर्ष कोटा घटाइएको छ,’ उनले भने, ‘धान बढी आए कोटा बढाउन केन्द्रमा आग्रह गरिनेछ ।’
गत वर्ष खाद्यले कञ्चनपुरमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर ३ हजार ३ सय क्विन्टल मात्रै खरिद भएको थियो । गत वर्ष महेन्द्रनगरसँगै शुक्लाफाँटा, बेलौरी नगरपालिकामा पनि खरिद केन्द्र राखिएको थियो । यस पटक पनि बेलौरी, पुनर्वास र दोधारा चाँदनी नगरपालिकामा खरिद केन्द्र सञ्चालनका लागि कर्मचारी थप माग गरेको कार्यालय प्रमुख महराले जनाए । कर्मचारी थपिए तत्काल खरिद सुरु गरिने उनको भनाइ छ ।
कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ टन छ । असारमध्यसम्म रोपाइँ सकिने भएकाले धान भित्र्याउने काम पनि चाँडो सकिन्छ । तर खाद्यले ढिलो खरिद गर्दा किसान सस्तोमा गाउँघरमै बिक्री गर्न बाध्य हुन्छन् । खाद्यले पनि कोटाअनुसार खरिद गर्न सक्दैन । समयमै खरिद सुरु गरे खाद्यले पनि कोटा पूरा गर्न सक्ने र किसानले पनि उचित मूल्य पाउने अवस्था आउने किसान बताउँछन् ।
