एक किस्ता धरौटी बुझाए पनि काटिएको लाइन जोडिने

रुपन्देहीका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता तिर्न थालेका छन् ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Even if you pay a deposit in one installment, the disconnected line will be reconnected.

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, सम्बन्धित सचिव तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सोमबार भएको छलफलले डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारेको छ ।

नेपाल विद्युत् प्राधिकरणले दिएको २८ किस्ताको सुविधामध्ये एक किस्ता बराबरको रकम ‘किस्ता’ नभई ‘विवादित रकम’ मान्दै धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन तत्काल जडान गर्ने सहमति भएको छ । धरौटी रकम बुझाएका आधारमा उद्योगीहरू पुनरावलोकनमा जाने तथा अन्य कानुनी उपचार खोज्ने अवसर सुरक्षित रहने व्यवस्था गरिएको छ । तर पीडित पक्षलाई सहभागी नगराई गरिएको सहमतिलाई उद्योगीले नमान्ने बताएका छन् । ‘हामीलाई सहभागी नगराई गरेको सहमति मान्दैनौं,’ बक्यौता विवादमा लाइन काटिएका एक उद्योगीले भने, ‘हाम्रातर्फबाट कुनै सहमति भएको छैन, हामी मान्दैनौं ।’

महासंघका अध्यक्ष ढकालले भने आइतबार र सोमबार निरन्तर उद्योगी, प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगमन्त्रीलगायत सबैसँग छलफल गरी ‘नेगोसिएसन’ पछि सहमति गरिएको दाबी गरे । ‘आइतबार प्रधानमन्त्री, अर्थमन्त्री खनाललगायत उच्च अधिकारीसँग भेट गरी पहल गरेका थियौं, त्यसपछि सम्बन्धित उद्योगीलाई महासंघमा बोलाई थप छलफल गरिएको थियो,’ उनले भने, ‘सोमबार पनि प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीसँग छलफल भयो, महासंघको पहलमा छलफल र नेगोसिएसनपछि सहमति गरेका हौं,’ ढकालले भने । डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा उद्योगीकै पक्षमा सहमति भएको ढकालको भनाइ छ ।

‘विवादित रकमको २८ किस्तामध्ये एक किस्ता हुन आउने रकमलाई धरौटी मानेर प्राधिकरणमा डिपोजिट गर्ने र प्राधिकरणले लाइन जोड्ने सहमति भयो, त्यो रकम किस्ता नभई धरौटी हुनेछ,’ ढकालले भने, ‘काटिएका उद्योगमा लाइन जोडिसकेपछि प्रशासकीय पुनरावलोकन, पुनरावेदनलगायत न्यायिक प्रक्रियामा जान पाइनेछ ।’

यसअघि प्रशासकीय पुनरावलोकनमा जाँदा बक्यौता रकमको ५ प्रतिशत बुझाउनुपर्ने भए पनि अब पुनरावलोकनमा जाँदा ५ प्रतिशतभन्दा कम धरौटी बुझाउँदा पुग्ने ढकालको भनाइ छ । ‘पुनरावलोकनमा जाँदा अब एक किस्ता धरौटी तिरेर जान सकिन्छ, पहिला बक्यौता रकमको ५ प्रतिशत बुझाउनुपर्थ्यो,’ उनले भने, ‘त्यसैले उद्योगीको पक्षमा निर्णय भएको छ । धेरै जना उद्योगीले यो सहमति मान्नुहुन्छ ।’

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम शुल्क नबुझाएको भन्दै ४ र ७ कात्तिकमा २५ उद्योगको बिजुली काटेको थियो । त्यसमध्ये दुई उद्योगले बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता तिरेपछि प्राधिकरणले जोडिदिएको थियो । त्यस्तै बुटवल सिमेन्ट र एभरेस्ट पेपर मिल बिजुली काट्नु अघिदेखि नै पूर्ण रूपमा बन्द रहेको प्राधिकरणले जनाएको छ । शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले समेत सरकारसँग भएको सहमति नमान्ने बताए ।

‘हामीले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी सरकारसँग सहमति गर्ने विषयमा महासंघलाई म्यान्डेट दिएका थिएनौं,’ अग्रवालले भने, ‘उहाँ (चन्द्र ढकाल) सँग कुनै म्यान्डेट छैन । सरकारसँग भएको यो सहमति उद्योगीविरुद्ध भयो । हामीसँग हिजो छलफल भएको हो । हामी ५ प्रतिशत बैंक ग्यारेन्टी राखेर पुनरावलोकनमा गएका थियौं । त्यसलाई नगद तिरेर जान तयार छौं । तर उहाँले किस्ताको कुरा गर्नुभएको छ ।’

यसैबीच रुपन्देहीका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता तिर्न थालेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार सरकारसँगको सम्झौताअनुसार पहिलो किस्ताबापत धरौटी रकम तिरेका हुन् । यससँगै उद्योगहरूमा विच्छेद गरिएको बिजुलीको लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जनाए । १७ उद्योगमा अझै पनि बिजुली काटिएको छ ।

२५ उद्योगमध्ये २ उद्योग पहिल्यै बन्द थिए, गोयन्का फुड्स र घराना फुड्सले बीचमा किस्ता तिरेका थिए । थप चार उद्योगले भने सोमबार रकम तिरेका हुन् । उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता छ । त्यसलाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully