राष्ट्र बैंकमा एकैदिन ११ जना कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक रहन्छन् । तीमध्ये एकैदिन ११ जनाको सरुवा गरिएको हो । बाँकी ६ जनालाई भने यथास्थितिमा राखिएको छ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Eleven executive directors transferred in one day at Nepal Rastra Bank

काठमाडौँ — नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबार (कात्तिक १७) को निर्णयअनुसार बुधबार (कात्तिक १९) देखि लागू हुनेगरी ती कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।

जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ । विदेशी विनिमय व्यवस्थापन विभागमा किरण पण्डितलाई लगिएको छ । उनी भुक्तानी प्रणाली विभागमा थिए । भुक्तानी प्रणाली विभागमा सत्येन्द्र तिमिल्सिनालाई लगिएको छ । उनी वित्तीय संस्था सुपरिभिजन विभागमा थिए । वित्तीय संस्था सुपरिभिजन विभागको जिम्मेवारी विश्रुत थापाले पाएका छन् । उनी मानव संशाधन विभागमा थिए ।

मानव संशाधन विभागको जिम्मेवारी गुरुप्रसाद पौडेलले पाएका छन् । उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेल पुगेका छन् । उनी मुद्रा व्यवस्थापन विभागमा थिए ।

यसैगरी, मुद्रा व्यवस्थापन विभागमा अनुज दाहाल पुगेका छन् । उनी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा थिए । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी राजन विक्रम थापाले पाएका छन् । यसअघि उनी गभर्नरको कार्यालयमा थिए ।

गभर्नर कार्यालयको जिम्मेवारीमा दयाराम शर्मा पुगेका छन् । यसअघि उनी मौद्रिक व्यवस्थापन विभागमा थिए । मौद्रिक व्यवस्थापन विभागमा डिल्लीराम पोख्रेललाई लगिएको छ । उनी बैकिङ विभागमा थिए । बैकिङ विभागको जिम्मा रोशनकुमार सिग्देललाई दिइएको छ । उनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा थिए ।

नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक रहन्छन् । तीमध्ये एकैदिन ११ जनाको सरुवा गरिएको हो । बाँकी ६ जनालाई भने यथास्थितिमा राखिएको छ । 

कान्तिपुर

Link copied successfully