‘जेटीसीसी’ मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने उनको दाबी थियो ।
काठमाडौँ — नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई) को संयुक्त प्राविधिक समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकको उद्घाटन गर्दै गभर्नर विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए ।
मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदान–प्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा ‘जेटीसीसी’ महत्त्वपूर्ण मञ्चको रूपमा स्थापित भएको उनको भनाइ थियो । आगामी दिनमा उक्त संयन्त्रमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदान–प्रदान थप सघन बन्दै जाने विश्वास पनि गभर्नर पौडेलले व्यक्त गरे ।
बैठकमा सोही अवसरमा भारतीय रिजर्भ बैंकका कार्यकारी निर्देशक एवं ‘जेटीसीसी’ संयोजक अर्णवकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण तथा वित्तीय समावेशीकरण प्रवर्द्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको बताए ।
‘जेटीसीसी’ मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने उनको दाबी थियो । बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका तर्फबाट ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले दुई पक्षीय हित प्रवर्द्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका ‘जेटीसीसी’ सम्बन्धित अधिकारीहरूबीच द्विपक्षीय सरोकारका विभिन्न एजेन्डामा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण र अन्य समसामयिक विषयमा छलफल भएको थियो । यसै गरी मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापनलगायतका विषयमा आरबीआईले गरेका असल नीतिगत अभ्यास अवलम्बन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको थियो ।
सो अवसरमा ‘जेटीसीसी’ को आठौँ बैठकमा छलफल भएका एजेन्डाको कार्यान्वयनको स्थितिबारे समीक्षा गरिएको थियो । बैठकमा राष्ट्र बैंकका तर्फबाट कार्यकारी निर्देशकहरू रेवतीप्रसाद नेपाल, विश्रुत थापा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. रामशरण खरेल, डा. डिल्लीराम पोख्रेल, निश्चल अधिकारीलगायतको सहभागिता थियो । आरबीआईका तर्फबाट कार्यकारी निर्देशक चौधरीसँगै महाप्रबन्धकद्वय लथा राधाकृष्णन र साश्वतकुमार महापात्र तथा प्रबन्धक अपर्णा वकिलको सहभागिता थियो ।
बैठकपश्चात् कार्यकारी निर्देशक चौधरी र महाप्रबन्धक महापात्रले क्रमशः भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भारतमा भुक्तानी प्रणालीको विकास क्रमका विषयमा प्रस्तुति दिएका थिए ।
बैंकिङ तथा वित्तीय प्रणालीका द्विपक्षीय सरोकारका विषयमा सहकार्य र समन्वय गर्ने तथा विभिन्न समस्याहरू समाधान गर्ने उद्देश्यले यस्तो समन्वयात्मक संयन्त्र तयार गर्ने क्रममा १३ मे, २०१६ मा जेटीसीसीको गठन भएको थियो ।
