रोजगारीमा कोरिया गई फर्किएका नेपालीले उद्यम गर्न सस्तो कर्जा पाउने

कोरिया सरकारको एजेन्सी कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत उनीहरुलाई सस्तो कर्जा प्रदान गर्न लागिएको हो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Nepalis who returned to Korea for employment will get cheap loans to start businesses

काठमाडौँ — ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया गएर फर्केका नेपालीहरुले उद्यमशीलता गर्न चाहेमा सस्तो कर्जा पाउने भएका छन्। कोरिया सरकारको एजेन्सी कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत उनीहरुलाई सस्तो कर्जा प्रदान गर्न लागिएको हो ।

त्यसका लागि प्रक्रिया अगाडि बढाइएको र आवश्यक सहजीकरण गरिदिन नेपालका लागि कोरिया गणतन्त्रका राजदूत महामहिम पार्क ते यङले अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरेका छन् ।  

अर्थमन्त्री खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङ बीच आज (सोमबार) अर्थ मन्त्रालयमा भएको भेटमा राजदूतले उक्त आग्रह गरेका हुन् । ‘राजदूतले ईपीएस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंक मार्फत् सहुलियत पूर्ण कर्जा उपलब्ध गराउँदै छौं,’ राजदूतले भने, ‘त्यसका लागि प्रक्रिया अगाडि बढाइएकोमा सोका लागि आवश्यक सहजीकरण गर्न नेपाल सरकारले गरिदिनुपर्‍यो।’

भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरेका थिए । कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासागको आर्थिक साझेदारीलाई निरन्तरता दिने उनको भनाइ थियो ।

भेटमा राजदूतले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासंग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गरेका थिए । कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरुको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उनले उल्लेख गरेका थिए ।

नेपाली कामदारहरुलाई कोरिया रोजगारीका लागि लैजान सहज होस् भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत उनले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully