राष्ट्र बैंकले २ अर्ब ६० करोड मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद  १८ गतेसम्म

उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank to place Rs 2.6 billion in fixed deposits, deadline for proposals is 18th

काठमाडौँ — राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

जसअनुसार २ अर्ब ८ करोड रुपैयाँ वाणिज्य बैंकमा, ३९ करोड रुपैयाँ विकास बैंकमा र १३ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक १८ गते (मंगलबारसम्म) आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा–निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।

कान्तिपुर

Link copied successfully