पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारसँगको सहमतिअनुसार धरौटी रकम तिरेका हुन् ।
काठमाडौँ — रूपन्देहीका उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न थालेका छन् ।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारसँगको सहमतिअनुसार धरौटी रकम तिरेका हुन् । यससँगै उद्योगहरूमा विच्छेद गरिएको बिजुलीको लाइन जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जनाए ।
उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।
पञ्चकन्या प्लास्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता छ । त्यसलाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका हुन् ।
