चक्रपथ दोस्रो खण्डको डिजाइन फाइनल

दुई देशका सरकारी अधिकारीबीच अब छिट्टै कार्यान्वयन सम्झौता हुने ।

कार्तिक १७, २०८२

विमल खतिवडा

Design of second section of Ring Road finalized

काठमाडौँ — लामो समयदेखि चर्चामा रहेको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि चिनियाँ टोलीले डिजाइन फाइनल गरेको छ । त्यसका लागि पहिला दुई देशका सरकारी अधिकारीबीच कार्यान्वयन (इम्प्लिमेन्टेसन) सम्झौता हुनेछ । जसका लागि चिनियाँ टोलीले अनलाइनमार्फत पठाएको कागजात सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । अब मन्त्रालयले सबै प्रक्रिया पूरा भए नभएको हेर्नेछ ।

सम्झौता गर्ने कागजातमा आवश्यक कुरा पूरा नभएको खण्डमा पुनः सडक विभागमार्फत थप गर्न लगाइने विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘हामीले इम्प्लिमेन्टेसन सम्झौताका लागि भौतिक मन्त्रालयबाट अर्थ र परराष्ट्र पठाउने गरी आवश्यक कागजात उपलब्ध गराइसकेका छौं,’ उनले भने, ‘कागजात नपुगेको वा केही कुरा थप्न परे मन्त्रालयले विभागलाई भन्ने छ, त्यही अनुसार पूरा गरेर पठाउँछौं ।’ 

प्रक्रिया पुगेको खण्डमा मन्त्रालयले अर्थमा पठाउनेछ । त्यसपछि अर्थले परराष्ट्रमा पठाएपछि दुई देशका अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढ्ने छ । यो काम बढीमा एक महिनाभित्र टुंगिसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

चीनले पठाएको कागजात सडक विभागमार्फत आएकाले यसलाई हेरेर अर्थ मन्त्रालय पठाउने तयारीमा रहेको भौतिक मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर शाखाका प्रमुख सुशीलबाबु ढकालले बताए । ‘सम्झौतापछि यसको कार्यान्वयन सडक विभागबाट हुने हो, विभाग चिनियाँ टोलीको सम्पर्कमै छ,’ उनले भने, ‘यो टोली आएपछि कसरी सहयोग गर्ने, के–केमा सहयोग गर्ने, उनीहरूले के के गर्ने भन्ने सम्बन्धको सम्झौता हो ।’ बढीमा अबको एक महिनाभित्र सम्झौता हुने उनको भनाइ छ । 

‘अब थपघट केही हुँदैन, डिजाइनमा के के राख्ने भनेर सबै फाइनल भइसकेको छ,’ उनले भने, ‘अब विस्तारको काममा ढिलाइ हुँदैन ।’ सम्झौतामा हस्ताक्षर भएपछि डिजाइन स्विकृतिका लागि चीनले सडक विभागमा पठाउने सडक विभागका उपमहानिर्देशक अर्यालले बताए । ‘डिजाइन स्विकृत भएपछि चीन सरकारबाट उतै ठेक्का आह्वान हुन्छ,’ उनले भने, ‘त्यसपछि चिनियाँ निर्माण कम्पनी छनोट भइ काम थाल्नेछन् ।’ 

गत भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला चिनियाँ टोली इम्प्लिमेन्टेसन सम्झौताको प्रक्रिया अघि बढाउने गरी आए पनि तत्कालको अवस्थाका कारण टोली फर्किएको थियो । त्यस बेलाको अवस्थाले गर्दा तत्काल प्रक्रिया अघि बढ्न सकेन । अब भने कुनै समस्या नरहेको उपमहानिर्देशक अर्यालले बताए । 

चक्रपथ दोस्रो खण्डको सर्भे गर्न गत वैशाख ६ मा चिनियाँ प्राविधिक टोली आएको थियो । साढे दुई महिना लगाएर डिजाइनका लागि सर्भेको काम गरेको थियो । ८.२ किलोमिटर दूरीमा सर्भेको काम भए पनि त्यो अनुसार दूरी वसुन्धरा कल्भर्टसम्म नपुग्ने विभागले जनाएको छ । ‘सुरुमा कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म नै सर्भे गर्ने गरी काम भएको थियो,’ काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयका तत्कालीन प्रमुख कृष्णनाथ ओझाले भने, ‘उक्त दूरी अनुसार बसुन्धरा चोकनजिकसम्म मात्र विस्तारको काम हुनेछ ।’ 

डिजाइन अनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्ने छ । तीनवटा आकाशे पुल अपांगमैत्री बन्ने छन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच र सामाखुसी बसुन्धरा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइने छ । त्यस्तै कलंकीदेखि बसुन्धराचोकसम्म सडक बत्ती सडक विस्तारकै क्रममा चीनले बनाउने गरी डिजाइनमा राखिएको विभागले जनाएको छ । 

चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङले सर्भेको काम गरेको थियो । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ ।

गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ मा सकिएको थियो । कलंकीदेखि वसुन्धरासम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो । त्यहीअनुसार अहिले चीन सरकारको अनुदानमा दोस्रो खण्ड विस्तार गर्न लागिएको हो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully