वीरगन्ज भन्सारमा अनलाइन मूल्यांकन प्रणाली लागू

अब क्रमशः सबै भन्सारमा यो प्रणाली कार्यान्वयन गर्ने योजना अर्थ मन्त्रालयले जनाएको छ ।

कार्तिक १६, २०८२

शंकर आचार्य

Online valuation system implemented at Birgunj Customs

पर्सा — वीरगन्ज भन्सार कार्यालयमा शनिबारदेखि अनलाइन मूल्यांकन प्रणाली लागू भएको छ । विराटनगर भन्सारमा परीक्षणको रुपमा लागू गरेको एक महिनापछि वीरगन्ज भन्सारमा उक्त प्रणाली लागू गरिएको हो ।

विराटनगर भन्सारमा यो प्रणाली असोज ८ देखि नै लागू गरिएको थियो । अब क्रमशः सबै भन्सारमा यो प्रणाली कार्यान्वयन गर्ने योजना अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थमन्त्री रामेश्वर खनालले शनिबार भर्चुअल कार्यक्रमबीच वीरगन्ज भन्सारमा अनलाइन मूल्यांकन प्रणालीको उद्घाटन गरेका थिए । उनी यसका लागि शनिबार वीरगन्ज आउने कार्यक्रम रहे पनि खराब मौसमका कारण सिमरा विमानस्थलको उनको उडान रद्द भएको थियो ।

अर्थमन्त्री खनालले अनलाइनबाट मूल्यांकन गर्ने प्रणालीले यसअघिको सन्दर्भ मूल्य प्रणाली प्रतिस्थापित गरेको बताए । उनले व्यापार सहजीकरण गरी लगानीको वातावरण बनाउन भन्सार प्रणालीमा सुधारका काम भइरहेको पनि बताए ।  

अब व्यवसायीले पेस गरेका बिलविजकका आधारमा प्रणालीले मूल्यांकन गर्ने बताउँदै उनले अनलाइन मूल्यांकन प्रणाली विश्वसनीय र व्यापार लक्षित भएको पनि दाबी गरे । उद्योग र व्यापारको सहजीकरण, सुरक्षा र लगानीको वातावरण बनाउन सरकार निजी क्षेत्रसँग सहकार्यका लागि सधैं अग्रसर रहेको पनि उनले बताए ।

यो प्रणाली लागू भएपछि व्यवसायीले पेस गरेको आधिकारिक बिललाई अनलाइन मूल्यांकन प्रणालीले ९० दिनको डाटाबेसको आधारमा विश्लेषण गरी मूल्यांकन गर्ने वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले बताए ।

अब आयातकर्ताले घोषणा गरेको विवरणको विश्लेषण अनलाइन प्रणालीबाट हुने बताउँदै तिवारीले आयातकर्ताले घोषणा गरेको मूल्य कहाँसम्मको तिरिएको हो, त्यसमा भाडा, बिमालगायतको खर्च समावेश भए नभएको, पछिल्लो ९० दिनमा त्यो वस्तुको मूल्य के-कति घोषणा भएको छ आदि कुराको विश्लेषण गरेर प्रणालीले नै जोखिम विश्लेषण गर्ने बताए । अब प्रणालीले उच्च, मध्यम र न्यून जोखिमस्तर कुनमा पर्ने हो त्यो छुट्याएको आधारमा मालवस्तुको जाँचपास हुने उनले बताए ।

उच्च र मध्यम जोखिममा परेका मालसामानमा मूल्य थपिने र कम मूल्य घोषणा भएमा थपिएको मूल्यांकनमा ५० प्रतिशत जरिवानासमेत लाग्ने छ ।

वीरगन्ज उद्योग वाणिज्य संघले पनि लामो समयदेखि भन्सार सन्दर्भ मूल्य प्रणाली हटाउन लबिइङ गर्दै आएको थियो । संघका अध्यक्ष हरि गौतमले सन्दर्भ मूल्यका कारण व्यवसायीले भन्सारमा दुःख पाउँदै आएकोमा अनलाइन प्रणालीले अब त्यो दुःखको अन्त्य भएको बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully