सुदूरपश्चिममा युरियाको चरम अभाव

प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रासायनिक मल आपूर्ति तथा बिक्री वितरण गर्छन्, यति बेला दुवै निकायमा छैन युरिया 

कार्तिक १६, २०८२

अर्जुन शाह

Extreme shortage of urea in the Far West

धनगढी — धान बाली भित्र्याइसकेका किसान गहुँ छर्ने र तरकारी बाली लगाउने तयारीमा छन् । तर किसान र विक्रेतासमेत रासायनिक मल नपाएर तनावमा छन् । सुदूरपश्चिममा यति बेला युरिया मलको चरम अभाव छ । यो गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेला हो ।

बालनाली लगाउने बेला सुरु भइसक्दासम्म रासायनिक मल नपाएर तनाव भएको धनगढी उपमहानगरपालिका–३ बडहराका किसान मधु चौधरीले बताए । 

मल नपाएर खेत जोतेर खाली बस्नुपरेको कैलालीको भजनी नगरपालिका–९ का डबलबहादुर बोगटीको भनाइ छ । ‘मल कहिलेसम्म आउँछ थाहा छैन । हामीलाई जहिलै मलकै समस्या हुन्छ,’ उनले भने । सुदूरपश्चिममा रासायनिक मल आपूर्ति तथा बिक्री वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुन् । हाल दुवै निकायमा युरिया मल छैन ।

‘डीएपी छिटफुट भए पनि युरिया भने छैन,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालयका सहायक रामचन्द्र जोशी भन्छन्, ‘कहिले कति परिमाणमा आउँछ, अहिले केही भन्न सकिँदैन । केन्द्रले कहिले पठाउँछ भन्नेमा भर पर्छ ।’ सुदूरपश्चिमले पाउने मलखादको कोटामा ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कषि सामग्रीले प्राप्त गरेर बिक्री गर्ने गरेका छन् । 

आउँदो मंगलबारदेखि मल बिक्री सुरु गर्ने प्रयास गरिरहेको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवसिंह बोगटीले बताए । ‘दिनको १ सय २५ टन बिक्री गर्न पुग्ने परिमाणमा मौज्दात भए मात्रै बिक्री सुरु गर्छौं,’ बोगटीले भने, ‘बिहीबारसम्म डेढ सय टन मात्र आइपुगेको छ ।’ कम्पनीको प्रादेशिक कार्यालयले कञ्चनपुर र डोटीबाहेकका जिल्लाका किसानका लागि मल बिक्रीवितरण गर्दै आएको छ । कञ्चनपुर र डोटीमा कम्पनीको आफ्नै कार्यालय छ ।

सुदूरपश्चिममा भैरहवाबाट मल आउने गरेको प्रादेशिक कार्यालय प्रमुख बोगटीले जनाए । नेपालमा कुल आयात हुने मलमा सुदूरपश्चिमको ९.२२ प्रतिशत युरिया र ९.०७ प्रतिशत डीएपीको कोटा हुने गरेको उनको भनाइ छ । गत आर्थिक वर्षमा धनगढी कार्यालयले युरिया १२ हजार ८ सय ४३ मेट्रिक टन र डीएपी ८ हजार ६ सय ४७ टन बिक्री गर्न पाएको थियो ।

‘कुल मागको आधा परिमाण पनि होइन यो,’ कार्यालय प्रमुख बोगटी भन्छन्, ‘वार्षिक ३० हजार टन हाराहारी युरिया र डीएपीको माग हुने गर्छ ।’ किसानले मल अभाव टार्न भारतीय सीमा क्षेत्रबाट चोरीको मल ल्याउँछन् । ‘यस वर्ष भारतीय सीमा क्षेत्रका बजारमा पनि मलखाद पाइएको छैन,’ कैलालीका एक किसानले भने ।

कम्पनीले हाल डीएपीको प्रतिक्विन्टल ४ हजार ७ सय ७३ र युरियाको १ हजार ८ सय ७३ निर्धारण गरेको छ । कम्पनीले किसानलाई सिधै बिक्री नगरी निजी क्षेत्रका व्यापारी तथा सहकारीहरूलाई कोटा निर्धारण गरेर मलखाद बिक्री गर्दै आएको छ । कृषि सामग्रीले उपलब्ध गराएपछि डिलरहरूबाट किसानले मल किन्न पाउने व्यवस्था छ । यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा विक्रेता निर्धारण गरिँदै आएको कार्यालय प्रमुख बोगटी बताउँछन् ।

‘कैलाली जिल्लाभर करिब चार सय डिलर तोकेका छौं,’ बोगटीले भने, ‘धनगढीमा ४७ वटा विक्रेता निर्धारण गरेका छौं ।’ एउटा विक्रेतालाई उपलब्ध गराइने मलको परिमाण भने यकिन नहुने उनको भनाइ छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully