पहिलो चरणमा बजेट उपलब्ध भएअनुसार १२ लाख लाइसेन्स छापेर सेवाग्राहीलाई उपलब्ध गराइने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।
काठमाडौँ — लामो समयदेखि छाप्न बाँकी २५ लाख सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये १२ लाखको छपाइ सुरु गरिने भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसअनुसार मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ ।
विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारीपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरे । पहिलो चरणमा बजेट उपलब्ध भएअनुसार १२ लाख लाइसेन्स छापेर सेवाग्राहीलाई उपलब्ध गराइने यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए ।
‘विभागमा आएदेखि लाइसेन्सको समस्या समाधान गर्न लागिपरेको छु,’ खतिवडाले भने, ‘त्यहीअनुसार आधा लाइसेन्स ६ महिनाभित्र छापेर वितरण गरिनेछ, बाँकी लाइसेन्सको पनि बजेट व्यवस्थापन गरेर छिट्टै छपाइ प्रक्रिया अघि बढाउँछौं ।’ विभागको प्रणाली सुरु भएको केही दिनभित्र मुद्रण केन्द्रले छपाइ सुरु गर्ने उनको भनाइ छ ।
सुरक्षण मुद्रणसम्बन्धी ऐनमा लाइसेन्स छपाइ पनि गर्ने विषय उल्लेख भएअनुसार नै दुई निकायबीच समन्वय गरेर काम सुरु गर्न लागिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले बताए । ‘यसका लागि यातायात व्यवस्था विभागसँग समन्वय गरिरहेका थियौं, गत जेठमा यही केन्द्रबाट छपाइ अघि बढाउने भनेर समझदारी पत्रमा हस्ताक्षर भएको थियो,’ उनले भने, ‘आगलागीबाट विभागको डेटा सेन्टर र समग्र प्रणालीमा क्षति पुगेको थियो, लाइसेन्सको डेटा उपलब्ध भएको एक साताभित्र छपाइ सुरु गर्छौं ।’
हाइस्पिडका मेसिन भएकाले तोकिएकै समयमा लाइसेन्स छपाएर विभागलाई उपलब्ध गराइने ढुंगानाको भनाइ छ । ‘हामीले लाइसेन्स छाप्ने हो, यसका लागि विभागले लाइसेन्सको डेटा उपलब्ध गराउँछ,’ उनले भने, ‘छापिसकेपछि सबै डेटा डिलिट गर्छौं, जुन डेटा पछि विभागकै सिस्टममा रहन्छ ।’
वैदेशिक रोजगारीमा जानेलगायतलाई तत्काल लाइसेन्स चाहिँदा मुद्रण केन्द्रले नै छापेर उपलब्ध गराउनेछ । यसका लागि पहिला जस्तै तत्काल लाइसेन्स चाहिनेले विभागमा निवेदन दिनुपर्नेछ । त्यहीअनुसार छपाइ गरेर उपलब्ध गराइनेछ । विभागले यस्ता लाइसेन्स दैनिक करिब ५ सय छापेर उपलब्ध गराउँदै आएको थियो । गत २४ भदौको आगलागीसँगै विभागको सेवा ठप्प छ । आगलागीबाट विभागको भवन ध्वस्त बनेको छ, सर्भर जलेर नष्ट भएको छ ।
‘पुराना सबै लाइसेन्स मुद्रण केन्द्रबाट छपाइ गरेर वितरण गर्छौं,’ विभागका निर्देशक खतिवडाले भने, ‘त्यसपछि प्रदेशअन्तर्गतकै कार्यालयबाट यो काम हुन्छ ।’ उनका अनुसार विभागमा रहेको लाइसेन्स छपाइ गर्ने मेसिन जलेको छ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् ।
लाइसेन्स छपाइ गर्न ल्याइएका करिब ६ लाख कार्ड सुरक्षित फेला परे पनि त्यो कार्डमा लाइसेन्स छपाइ गर्न मिल्ने–नमिल्ने प्रिन्टर नहुँदा जाँच हुन सकेको छैन । विभागको प्रणाली (सिस्टम) नचल्दासम्म कति लाइसेन्स छपाइ भएर बसेका थिए, यकिन नहुने निर्देशक खतिवडा बताउँछन् ।
विभागमा जलेका र हराएका लाइसेन्सबारे प्रणाली सञ्चालनमा आएपछि के–कति छापिएका थिए, यकिन जानकारी हुने खतिवडाले जनाए । प्रणालीमा देखाइसकेपछि त्यहीअनुसार क्षतिबारे यकिन गर्न सकिने उनको भनाइ छ ।
आइतबारदेखि सबै सेवा सुरु गर्ने गरी काम भइरहेको विभागले जनाएको छ । शुक्रबार प्रणालीको परीक्षण गरिएको छ । अब सोमबारबाट सेवा सुरु गरिने खतिवडाले बताए । ‘नयाँ लाइसेन्सका लागि आवेदन दिने, नवीकरण गर्ने र ट्रायल दिने काम पनि अब सञ्चालन गर्छौं,’ उनले भने, ‘अवरुद्ध सबै सेवा अब सुरु हुन्छन् ।’
अघिपछि दिनको सातवटै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । देशभर ४२ यातायात व्यवस्था कार्यालय छन् । त्यसमध्ये आठमा भने तत्काल सेवा सञ्चालनमा कठिनाइ भएको खतिवडाले जनाए ।
