खराब मौसमका कारण उडान प्रभावित हुँदा लुक्लामा करिब एक हजार पर्यटकहरू रोकिएका छन्।
सोलुखुम्बु — लगातार मौसम प्रतिकूलताका कारण देशकै सबैभन्दा धेरै विमानस्थल भएको सोलुखुम्बुमा हवाई उडान प्रभावित भएको छ । ४ वटा विमानस्थल रहेको जिल्लामा नियमित उडान हुने फाप्लु र लुक्ला विमानस्थलमा तीन दिनदेखि उडान हुन सकेको छैन।
पर्यटकहरूको चाप उच्च हुने यो सिजनमा मौसमका कारण उडान प्रभावित हुँदा पर्यटकहरूलाई सास्ती भएको छ। बेमौसमी वर्षात्का कारण लुक्ला विमानस्थलमा हवाई उडान भएको छैन। उडान नहुँदा विदेशी पर्यटकहरू अलपत्र परेका छन् । घुम्नका लागि निश्चित समय लिएर आएका पर्यटकहरू फर्किन पाएका छैनन्।
मौसममा खराबी आएपछि लुक्लामा तीन दिन देखि उडान हुन नसकिरहेको एटिसी अफिसर नवराज कटवालले बताए । यता सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि तीन दिन यता उडान हुन नसकिरहेको विमानस्थलले जनाएको छ । विशेष गरी सरकारी ध्वजावाहक विमानले उडान भर्ने उक्त विमानस्थलमा समेत मौसमका कारणले ३ दिन देखि उडान बन्द छ।
पर्यटकहरूको आवतजावत रोकिँदा यहाँ बासस्थानको व्यवस्थापन समेत चुनौतीपूर्ण बनेको छ। नाम्चे क्षेत्रबाट गन्तव्यका लागि हिँडेका पर्यटकहरू लुक्लामा आएर थन्किएका छन्। पर्यटकहरूको बस्ने व्यवस्थापनमा चुनौती थपिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाजी शेर्पाले बताए ।
उडान नहुँदा करिब एक हजारको संख्यामा पर्यटकहरू लुक्लामा अलपत्र परेका उनले अनुमान गरे।
