किन घटिरहेको छ सुनको भाउ ?

बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई लाख ३६ हजार ३ सयमा स्थिर रहँदा चाँदीको मूल्य भने सामान्य वृद्धि हुँदै दुई हजार ९८० पुगेको छ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

Why is the price of gold falling?

What you should know

काठमाडौँ — पछिल्ला केही दिनयता विश्व बजारमै सुनको मूल्य निरन्तर जसो घटिरहेको छ। त्यसअघि उच्च दरले बढेको सुनको मूल्य पछिल्ला दिनहरूमा निरन्तर ओरालो लाग्नुलाई चासोका रूपमा हेरिएको छ।

नेपाली बजारमा बिहीबार सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारकै बराबर हो। बिहीबार सुनको मूल्यमा परिवर्तन नभए पनि त्यही मूल्यमा सुन किनबेच भइरहेको हो। गत असोज ३१ गते सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भएको थियो। यसको तुलनामा बुधबारसम्म सुनको मूल्य करिब साढे आठ प्रतिशतले घटिसकेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार छोटो समयमा सुनको मूल्यमा यति धेरै गिरावट आएको यो पछिल्लो १७ वर्ष यताकै उच्च हो। यसअघि २०६६ सालमा छोटो समयमा उच्च गिरावट आएको थियो।

त्यसो त पछिल्ला दिनहरूमा विश्व बजारमै सुनको मूल्य घटिरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।

यही कात्तिक ४ गते विश्व बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। त्यसयता पनि सुनको मूल्य घट्ने क्रम रोकिएको छैन।

अहिले सुनको मूल्य घट्नुमा विभिन्न कारणहरू छन्। जसअनुसार यसअघि धेरैले बढेको सुनको मूल्यमा अहिले करेक्सन हुनु, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत दिनु, अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आउनु लगायत कारणले विश्व बजारमै सुनको मूल्य घटेको जानकारहरूले बताएका छन्।

यस वर्ष मात्र सुनको मूल्य करिब ५० प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलरसम्म पुगेको थियो। त्यसपछि घट्न थालेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच छ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। दुई नेताबीच सन् २०१९ यतापछि भेट भएको थिएन। एसिया–प्रशान्त आर्थिक साझेदारी (एपेक) सीईओ सम्मेलनमा सहभागी हुन आएका दुई नेताबीच आज वुसानमा भेटवार्ता हुन लागेको हो। यसले विश्व बजारमा ठूलो सन्देश दिएको छ।

सन् २०१९ ताका दुई नेताबीच भेट हुँदा ट्रम्प राष्ट्रपतिको पहिलो कार्यकालको अन्त्यतिर थिए। उनले पहिलो कार्यकालको सुरुवातदेखि नै चीनसँग व्यापार युद्ध थालेका थिए। सन् २०२० मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि मात्र दुई देशबीचको व्यापार युद्ध केही मत्थर भएजस्तो देखिएको थियो।

तर, ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएयता यो विषय थप पेचिलो बनेको छ। अमेरिका र चीनबीचको अहिले देखिएको व्यापार युद्धका कारण वैश्विक उत्पादन र वितरण चक्र प्रभावित भएर विश्वका साना–ठूला सबै अर्थतन्त्र मर्कामा छन्। दुई नेताबीच हुन लागेको भेटवार्तामा यो समस्यामा छलफल हुने र समाधानका उपाय खोजिने अपेक्षा छ। अपेक्षाअनुसार भेटवार्ता सकारात्मक रूपमा सम्पन्न भएमा अमेरिका र चीनबीचको व्यापारमा सुधार आउने प्रक्षेपणहरू गरिएका छन्। त्यसो हुन सकेको अवस्थामा अमेरिकी डलर बलियो हुने र सुनको मूल्य झनै घट्ने अनुमान गरिएका छन्।

यस्तै, विश्वका केन्द्रीय बैंकहरूले सुन किनेर सञ्चित गर्ने क्रम बढाएको कारण केही समयअघिसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएको थियो। अन्तर्राष्ट्रिय व्यापारमा अनिश्चितता र विभिन्न मुलुकहरूमा चलिरहेका द्वन्द्वले पनि लगानीकर्ताहरूले सुनमा लगानी सुरक्षित मानिरहेका थिए। तर, केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। यसको एक कारण अमेरिका र चीनबीच चलेको व्यापार युद्धमा सुधार आउने संकेत पनि रहेको बताइएको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ। बुधबार तोलामा दुई लाख ३६ हजार तीन सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि सोही कायम भएको हो।

तर, चाँदीको मूल्य भने सामान्य बढेको छ। बुधबार तोलामा दुई हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा दुई हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

कान्तिपुर

Link copied successfully