रुपन्देहीका डेढ दर्जन उद्योगमा जानकारी बिनै डेडिकेडेड फिडर र ट्रंकलाइन जडान गरेर महशुल चुक्ता गर्न बाध्य तुल्याएको भन्दै व्यवसायिक संघसंस्थाले आन्दोलनको निर्णय गरेको बताए ।
What you should know
भैरहवा — नेपाल विद्युत प्राधिकरणले डेडिकेडेड फिडर र ट्रंकलाइन वापतको बक्यौंता महशुल नतिरेको भन्दै विद्युत लाइन काटेको बिरोधमा रुपन्देहीका उद्योगीले बिहीबार झरीकै बीच प्रदर्शन गरेका छन् ।
उद्योगले माग नै नगरेको ट्रंकलाइन वापतको महशुल चुक्ता गर्न बाध्य बनाइएकाे भन्दै उद्याेगीले प्रदर्शन गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा भएको प्रदर्शनमा बन्द उद्योगका कर्मचारी, मजदुर, विभिन्न उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका सदस्य सहभागी थिए । बिहीबार झरी परे पनि उनीहरुले भैरहवास्थित विद्युत कार्यालयको गेटमा बिहान ११ बजेदेखि १२ बजेसम्म बन्द उद्योगका व्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा मजदुरले रोजगारी नखोस्न र ट्रकलाइन खपतका लागि माग गरेको प्रमाण देखाउन सरकार समक्ष माग गरका थिए । उनीहरुले सरकारले प्रमाण दिने बित्तिकै महशुल बुझाउने भन्दै नाराबाजी गरेका थिए । उनीहरुले सरकारले नै उद्योगीलाई बदमास देखाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा भएको प्रदर्शनमा तिलोत्तमा उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ बुटवल, रुपन्देही उद्योग संघ, विभिन्न श्रमिक संघ र जिफन्ट नेपालले ऐक्यबद्धता जनाएका छन् ।
प्रदर्शनलाई सम्बोधन गर्दै विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिले डेडिकेडेट फिडर र ट्रकलाइन माग गरेका उद्योगीले महशुल तिर्नुपर्नेमा द्विविधा नभए पनि माग नै नगरेका उद्योगीबाट महशुल असुली गर्नु अन्याय हुने भएकाले आन्दोलनमा उत्रिएको बताए ।
रुपन्देहीका डेढ दर्जन उद्योगमा जानकारी बिनै डेडिकेडेड फिडर र ट्रंकलाइन जडान गरेर महशुल चुक्ता गर्न बाध्य तुल्याएको भन्दै व्यवसायिक संघसंस्थाले आन्दोलनको निर्णय गरेको बताए । ‘आगामी दिनमा पनि शान्तिपूर्ण रुपमा प्रदर्शनका कार्यक्रम जारी राखिने छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने, ‘कुलमान घिसिङले उर्जामन्त्री बन्नु अघिदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै आउनुभएको छ । हाम्रा उद्योगी व्यवसायीले उपयोग नै नगरेको विद्युतको बिल र प्रमाण बिना पैसा उठाएर हिरो हुन खोज्नुभएको छ । त्यसबिरुद्ध हामी संगठित छौं । आन्दोलन जारी राख्छौं ।’ प्रदर्शनमा सहभागी संघसंस्था बीच समन्वय गरेर आगामी दिनका लागि विरोधका कार्यक्रम तय गरिने उनले जानकारी दिए ।
