चीनले कन्टेनर नछाड्दा करोडौं मूल्यका मालवस्तु महिनौंदेखि अलपत्र

रसुवा नाका खुलेको छैन भने तातोपानीबाट ढुवानीका साधन न्यून संख्यामा मात्र आउजाउ गर्न दिइएको छ,कन्टेनर नछाडेका कारण दसैं–तिहारका लागि किनिएका सामानसमेत भित्रन पाएका छैनन्

कार्तिक १३, २०८२

ऋषिराम पौड्याल

Goods worth crores of rupees have been stranded for months as China refuses to release containers

What you should know

काठमाडौँ — चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले आवश्यकताअनुसार कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं रुपैयाँ बराबरका मालवस्तु बाटोमा अलपत्र परेका छन् । रसुवा नाका बन्द भएपछि गत असारदेखि नै चिनियाँ क्षेत्रमा रोकिएका सामान नेपाल भित्रन सकेका छैनन् । 

रसुवा नाका खुलेको छैन भने तातोपानीबाट ढुवानीका साधन न्यून संख्यामा मात्र आउजाउ गर्न दिइएको छ । ढुवानीका कन्टेनर नछाडेका कारण दसैं–तिहारका लागि किनिएका सामानसमेत नेपाल भित्रन पाएका छैनन् । दसैंअघि उत्तरी नाकामध्ये एक मात्र विकल्प तातोपानी थियो । तर लगातार दुई महिनाभन्दा बढी समय अरनिको राजमार्गको कोदारी खण्ड सडक अवरुद्ध भयो । यसले फलफूल बोकाएर भन्सार यार्डसम्म ल्याउनुपर्‍यो । अन्य मालवस्तु भने उतै गोदाममा राखिएको थियो । 

अहिले सडक सञ्चालन भए पनि तिब्बतको नेलाम प्रशासनले मालवाहक कन्टेनर सीमित संख्यामा छोडेका कारण नेपाली व्यापारी मारमा परेका छन् । चीनको ल्हासा, नेलाम, केरुङलगायत सहरमा आफूहरूका सामान अलपत्र भएको नेपाल हिमाल सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) ले जनाए । कतिपय मालवस्तु कन्टेनरमा लोड गरेर राखिएको छ भने धेरैजसो गोदाममा छन् । रसुवा नाका बन्द भएपछि केरुङमा गोदाम गरेका कतिपय सामान उतै अलपत्र छन् । तातोपानीतर्फ ल्याइएका सामान पनि भित्रन सकेका छैनन् । 

तातोपानी नाकामा निर्भर हुन कठिन भएपछि व्यवसायीले मुस्ताङको कोरला भन्सार नाका पनि प्रयोग गर्न थालेका छन् । यद्यपि जाडो मौसममा हिउँ पर्ने, ढुवानी र आउजाउ गर्न पनि निकै टाढा हुने भएकाले व्यवसायीले असहज महसुस गरेका छन् । तातोपानी र रसुवा बन्द भएका कारण दसैंअगावै कोरलाबाट इलेक्ट्रिक भेहिकलसहित व्यापारिक मालवस्तु आयात गरिएको थियो । अहिले पनि कोरला नाका नियमित सञ्चालनमा छ । तर हिउँ पर्ने भएकाले कतिन्जेल सहज होला, यकिन छैन । 

‘नाका खुला भएको देखाउने तर व्यापार सहज रूपमा गर्ने वातावरण नबनाउने प्रवृत्ति चीनको छ । समयमा सामान आयात गर्न नसक्दा व्यापारीले भोग्नुपर्ने समस्याबारे तिब्बत सरकारले कुरा नबुझ्दा हामी मारमा परेका छौं,’ घिमिरेले भने । सीमापार वाणिज्य संघले नेपालस्थित चिनियाँ दूतावासलाई पनि कन्टनेरको संख्या बढाएर व्यापार सहजीकरणका लागि पहल गरिदिन लिखित अनुरोध गरेको छ । ‘यसमा नेपाल सरकारले नै बढी पहल गर्दा राम्रो हुन्थ्यो । हामी निजी क्षेत्रले त सूचना दिने मात्र हो,’ घिमिरेले भने । 

दिनको ४० देखि ५० कन्टेनर सामान आयात भए मात्र व्यापारीको सामान समयमा काठमाडौं भित्रन सक्ने उनको अनुमान छ । अहिले दिनको १५–२० कन्टेनर मात्र सामान छाड्ने गरिएको घिमिरेले जनाए । व्यवसायीको मागअनुसार सामान आयात नभएको तातोपानी भन्सार अधिकृत रमेश शाहले बताए । ‘सामान आइरहेकै छ तर व्यवसायीले पैठारी गर्न चाहेअनुसार कन्टेनरको अभाव देखिएको छ,’ उनले भने । 

दिनको ४०–५० कन्टेनर सामान जाँच गर्न सक्ने जनशक्ति तातोपानी भन्सारमा रहेको शाहको भनाइ छ । भन्सारले नेलाम प्रशासनसँग बेलाबेला समन्वय गरेर व्यापार सहजीकरण गरिरहेको उनको दाबी छ । विशेषतः फलफूलका कन्टेनरलाई प्राथमिकता दिएर पठाउने गरिए पनि अन्य मालवस्तुका कन्टेनर पर्याप्त नछाडेको उनले बताए । सडक अवरुद्ध हुने र पर्याप्त कन्टेनर आउजाउ गर्न नदिने भएकाले यसले भन्सार राजस्वमा समेत प्रत्यक्ष असर गरेको छ । खासा र तिब्बत क्षेत्रमा भौतिक संरचना मर्मत भइरहेको र स्थानीय सरकारी कार्यालयबीच समन्वय नभएका कारण पनि कन्टेनर छाड्ने विषयले प्राथमिकता नपाएको सीमा प्रशासनका अधिकारीहरूको भनाइ छ । भूकम्पपछि तातोपानीको मितेरी पुलबाट सर्वसाधारणलाई खासा जान मान्छेको आउजाउ पूर्ण रूपमा बन्द गरिएको छ । रसुवाको मितेरी पुल बगाएका कारण गत असारदेखि मानसरोवर जाने तीर्थयात्रुका लागि भने तातोपानीनको बाटो प्रयोग गर्न दिइएको थियो । भूकम्पले भत्काएको खासामा मर्मत भइरहेको छ । 

तातोपानी मितेरीपुलबाट खासा बजार ९ किमि र खासाबाट नेलाम ३५ किमि दूरीमा पर्छन् । नेपालीले खरिद गरेको मालवस्तु नेलामसम्म ल्याएपछि त्यहाँको प्रशासनले खासा हुँदै ४४ किमि नेपालतर्फ तातोपानी पठाउने मालवाहक कन्टेनरको संख्या सीमित गर्दै आएको छ । नेलामसम्म सामान ल्याउन दिए पनि तातोपानी नाका पठाउन भने आलटाल गरिँदै आएको नेपालीहरूले सञ्चालन गरेको अटो ट्रान्सपोर्टका सञ्चालक भुवन थापाले गुनासो गरे । दिनको ४०–५० वटा कन्टेनर पठाए मात्र चिनियाँ क्षेत्रमा गोदाम गरिएका सामान छिट्टै नेपाल भित्रन सक्ने उनको भनाइ छ । 

चिनियाँ ट्रान्सपोर्ट कम्पनीका कन्टेनरहरूले नेपाल पैठारी गर्ने सामान तातोपानीस्थित मितेरी पुलपारि ल्याउने गरेका छन् । त्यहाँबाट नेपाली कन्टेनरले तातोपानी भन्सारको लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याउँछन् । भूकम्प, बाढीपहिरो र कोभिडका कारण दशकदेखि सहज रूपमा सञ्चालन हुन नसकेको तातोपानी नाकाबाट गरिने व्यापार यो वा त्यो बहानमा सधैं अस्थिर हुने गरेको व्यवसायीको गुनासो छ । 

चीनका विभिन्न सहरबाट सामान पैठारी गर्दा सहज रूपमा नेपाल आउने सबैभन्दा छोटो नाका तातोपानी हो । व्यापार कम भएपछि चालु आर्थिक वर्षको राजस्व लक्ष्य २४ अर्ब ४७ करोड हासिल गर्न कठिन पर्ने अधिकृत शाहले जनाए । चालु वर्षको साढे तीन महिनामा ३ अर्ब ३१ करोड राजस्व संकलन भएको छ । लक्ष्यअनुसार यस अवधिमा साढे ६ अर्ब राजस्व संकलन हुनुपर्छ । तर तत्कालका लागि एक मात्र विकल्पमा रहेको नाकाबाट व्यापार गर्न सक्ने परिस्थिति नै बन्न नसकेको व्यवसायीको भनाइ छ । 

ऋषिराम पौड्याल

Link copied successfully