जल तथा मौसम विज्ञान विभागको मौसमी पूर्वानुमानले कात्तिक १० देखि १२ सम्म देशका विभिन्न स्थानहरूमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाउँदै पदयात्रा मार्गहरू अवरुद्ध हुने, हिमपहिरो, पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने जनाएका छन् ।
What you should know
काठमाडौँ — पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ र नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान) ले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा आगामी केही दिन खराब मौसमको सम्भावना रहेको भन्दै सबै पदयात्री, पर्वतारोही तथा सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यी संस्थाहरुले जल तथा मौसम विज्ञान विभागको मौसमी पूर्वानुमानले कात्तिक १० देखि १२ सम्म देशका विभिन्न स्थानहरूमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाउँदै पदयात्रा मार्गहरू अवरुद्ध हुने, हिमपहिरो, पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने जनाएका छन् ।
नक्सालमा रहेको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालले सबै ट्रेकिङ कम्पनीहरू, गाइड तथा आरोहण दलहरूलाई आफ्नो सुरक्षाप्रति सचेत रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । संघले अत्यावश्यक नपरेसम्म उच्च हिमाली क्षेत्रमा यात्रामा जान वा आरोहण कार्यक्रम सञ्चालन नगर्न सल्लाह दिएको छ।
त्यस्तै, नागपोखरीस्थित नेपाल पर्वतारोहण संघले पनि सबै आरोहण तथा पदयात्रा दलहरूलाई मौसमको अवस्था र सरकारी निर्देशनलाई ध्यानमा राखी सावधानीपूर्वक योजना बनाउन अनुरोध गरेको छ । संघले स्थानीय प्रशासन, ट्रेकिङ कम्पनीहरू र आरोहण दलहरूबीच समन्वय गरी सुरक्षात्मक व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ।
यसैगरी भृकुटीमण्डपमा रहेको पर्यटन विभागले पनि आन्तरिक तथा विदेशी पर्यटकहरूलाई हालको मौसम अवस्थालाई ध्यानमा राखी सतर्क रहन र सुरक्षात्मक उपायहरू अपनाउन अनुरोध गरेको छ । विभागले स्थानीय निकाय, प्रहरी तथा उद्धार टोलीहरूसँग सहकार्य गरी आवश्यक परेको खण्डमा सहयोग पुर्याउने जनाएको छ ।
यी तीनै संस्थाहरूले पदयात्री, पर्वतारोही तथा पर्यटन क्षेत्रका सम्पूर्ण कर्मचारीहरूको सुरक्षा नै प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै, मौसम सामान्य नहुन्जेलसम्म उच्च हिमाली क्षेत्रका भ्रमण तथा आरोहण कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् ।
