सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वानको तयारी भए पनि गत असोजमा परेको पानीले धादिङतर्फ सुरुङको मुख नजिकै पहिरो खसेर समस्या थपिदिएको छ ।
What you should know
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन समय लाग्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातबाट सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी थियो ।
सञ्चालन गर्ने निकाय छनोट गर्न र धादिङतर्फ पहिरो खसेपछि टोल प्लाजा बनाउन समय लाग्दा केही ढिलाइ हुने सडक विभागले जनाएको छ । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोटका लागि बोलपत्र आह्वानको तयारी हुँदै छ ।
सेवा प्रदायक छनोटका लागि यही साताभित्र सूचना निकाल्ने तयारी गरिरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले बताए । गत असोजमा परेको पानीले धादिङतर्फ सुरुङको मुख नजिकै पहिरो खसेर समस्या थपेको छ ।
‘धादिङतर्फ सुरुङको मुख अघिल्तिर पहिरोले गर्दा तीनवटा टोल प्लाजा बनाउन सकिएको छैन,’ नेपालले भने, ‘जापानी परामर्शदाताबाट पहिरो रोकथाम कसरी गर्ने भनेर डिजाइनको काम भइरहेको छ ।’
पहिरो रोकथाम र सेवा प्रदायक छनोटको काम एकसाथ हुने नेपालले सुनाए । ‘जनवरी १ मा पूर्ण रूपमा सुरुङ सञ्चालनमा नआए पनि परीक्षणको काम गर्छौं,’ उनले भने । सञ्चालन सुरु गर्ने समय भने माघ पुग्ने विभागका महानिर्देशक विजय जैसीले बताए । ‘टोल प्लाजा र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट बन्दै छ, धादिङतिर पहिरो व्यवस्थापनको काम पनि भइरहेको छ,’ उनले भने, ‘त्यसैले कहिलेबाट सञ्चालन गर्ने भन्नेबारे मिति तय भइसकेको छैन ।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जतिसक्दो छिटो सुरुङको काम सकेर सवारीसाधन सञ्चालनमा ल्याउन विभागलाई ताकेता लगाइरहेका छन् । त्यहीअनुसार काम भइरहेको विभागले प्रस्ट्यायो । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सरकारले शुल्क तोकिसकेको छ । सडक बोर्ड नेपालको प्रस्तावमा गत साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकबाट शुल्क लागू गर्न स्वीकृति मिलिसकेको छ ।
यसअनुसार कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ । त्यस्तै मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको भनाइ छ ।
बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।
नागढुंगा–सिस्ने खोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत चैत २५ मा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।
४२ महिनाभित्र सक्ने भन्दै २०७६ कात्तिक ४ मा यसको निर्माण थालिए पनि कोभिड र स्थानीयको पटकपटकको अवरोधका कारण समयमै आयोजना सम्पन्न गर्न ढिला भएको आयोजनाको दाबी छ । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ हो । जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो ।
