पहिलो त्रैमासमा ३५ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता

असोज महिनामा मात्र ७५ उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Foreign investment commitment of Rs 35.13 billion in the first quarter

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार यो अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको हो।

असोज महिनामा मात्र ७५ उद्योगमा २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। विभागका अनुसार अटोमेटिक रुटमार्फत पहिलो त्रैमासमा १९७ उद्योगमा ३३ अर्ब २७ करोड ४८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

अप्रुभल रुटमार्फत भने ११४ उद्योगमा एक अर्ब ८६ करोड २९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता दर्ता भएको हो। विभागका अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ।

क्षेत्रगत हिसाबले पर्यटन क्षेत्रमा ७१ प्रतिशत, उत्पादन क्षेत्रमा १० प्रतिशत, सेवा क्षेत्रमा नौ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा आठ प्रतिशत र कृषि क्षेत्रमा दुई प्रतिशत विदेशी लगानी प्रतिबद्धता दर्ता भएको विभागले जनाएको छ। तर, खनिज, पूर्वाधार र ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता शून्यप्रायः रहेको विभागको विवरणमा उल्लेख छ।

विभागका अनुसार ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ बराबरको रोयल्टी फिर्ता लैजान स्वीकृति दिइएको छ। त्यस्तै, ८ हजार ५ सय २१ अमेरिकी डलर, ५९ लाख १४ हजार ३४४ भारतीय रुपैयाँ र १० हजार २ सय युरो बराबरको रोयल्टी फिर्ता लैजान स्वीकृति दिइएको विभागले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully