जग्गा लिजमा लिएर धान खेती, वार्षिक १२ लाखभन्दा बढी आम्दानी

८० रोपनी क्षेत्रफलमा तीन सय मुरी धान उत्पादन गर्ने घिमिरेले वार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्छन् । यसको दोब्बर कारोबार भए पनि ५० प्रतिशत लगानी हुने उनले बताए ।

कार्तिक १०, २०८२

सन्तोष महतारा

Rice cultivation on leased land, annual income of more than 1.2 million

What you should know

गुल्मी — यहाँका फाँटहरूमा यतिबेला धान भित्र्याउने चटारो छ । मौसम प्रतिकूल बनेपछि किसानहरूलाई धान भित्र्याउन भ्याइनभ्याइ छ।

जिल्लाको मुख्य फाँट चौरासी फाँटमा ठूलो मात्रामा धान खेती छ । मुख्य गरी धर्कोट, अर्जै र अम्मरपुरका अधिकांशका खेत रहेको चौरासी फाँट इस्मा गाउँपालिका-६ अम्मरपुरमा पर्दछ ।

यहाँ धान खेती गर्नेमध्येका एक अगुवा किसान हुन्, कृष्ण घिमिरे । शिक्षण पेसाबाट अवकाश प्राप्त घिमिरेले मौसम बिग्रने जस्तो स्थितिका कारण आफूहरूलाई धान बाली भित्र्याउन भ्याइनभ्याइ भइरहेको बताए । ८० रोपनी क्षेत्रफलमा तीन सय मुरी धान उत्पादन गर्ने घिमिरेले वार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्छन् । यसको दोब्बर कारोबार भए पनि ५० प्रतिशत लगानी हुने उनले बताए ।

धान रोप्न, गोडमेल गर्न र काट्न मानवश्रम नै आवश्यक परे पनि खेत जोत्न र धान झाँट्न आधुनिक प्रविधिको प्रयोगले निकै सहज भइरहेको छ । २५ जना कामदारले दिनभर गर्ने काम ५ जना कामदारले थ्रेसरको प्रयोगबाट एक घण्टामा पूरा गरेको घिमिरेले बताए ।

आफ्नो ६ रोपनी क्षेत्रफलको जग्गाबाहेक अरु ७४ रोपनी क्षेत्रफल वार्षिक प्रतिरोपनी ३ हजार ५ सय रुपैयाँका दरले लिजमा लिएका छन् । शिक्षण पेसाबाट अवकाश प्राप्त घिमिरेले २०७१ सालदेखि व्यावसायिक रुपमा धान र गहुँ खेती सुरु गरेका हुन् । धान खेती भएकै खेतमा अबको सिजनमा गहुँ खेती गर्ने उनले बताए ।

बीउ प्रयोजनको धान र गहुँ बिक्री गर्ने उनले सामान्य धान प्रतिपाथी १ सय ३० रुपैयाँमा बिक्री गर्छन् । चामल प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री गर्छन् ।

धानको बीउ प्रतिकिलो ९० रुपैयाँमा बिक्री गर्ने उनले बताए । बजारका लागि कुनै समस्या नरहेको पनि उनले सुनाए । 'सबै घरबाटै बिक्री हुने गरेको छ,' उनले भने, 'धान खेतीसँगै भैंसी तीन र गाई चारवटा पनि पालन गरेको छु । दैनिक ३५ लिटर दुध स्थानीय बजारमा पुर्‍याउँछु ।'

सन्तोष

Link copied successfully