जेन–जी आन्दोलन र प्रतिकूल मौसमले दसैं बिदामा प्रभावित पर्यटन क्षेत्रलाई तिहार र छठ बिदाले राहत भएको छ । यतिबेला गण्डकी प्रदेशका चल्तीका सबैजसो ट्रेकिङ रूट र पर्यटकीय क्षेत्र भरिभराउ छन् । पोखरा घुम्न आउने र पोखरालाई ‘ट्रान्जिट’ बनाएर ट्रेकिङ, पर्यटकीय र धार्मिक गन्तव्य जाने पर्यटकको चापले तिहार बिदाभर पोखरा भरिभराउ रह्यो । दसैंमा ३५ प्रतिशतमात्र अकुपेन्सी रहेका पोखराका होटलमा तिहारमा कोठा पाउनै मुस्किल भयो ।
What you should know
कास्की — तिहार बिदा सुरू भएसँगै पर्यटकले भरिभराउ पोखराका होटल र पर्यटकीय गन्तव्यमा अझै भीड घटेको छैन । अनुकूल मौसम र बिदाको समय परेकाले तिहारको भोलिपल्टदेखि पोखरामा पर्यटकको भीड निकै बढ्यो । स्वदेशीबाहेक भारतीय र अन्य देशका पर्यटक पनि घुमफिरमा व्यस्त छन् ।
जेन–जी आन्दोलनका कारण दसैं बिदामा पर्यटकको आवागमन निकै कम थियो । तिहारमा भने त्यस्तो रहेन । कतिपय पर्यटकलाई पोखरामा बास बस्ने कोठा पाउनै मुस्किल पर्यो । हेटौंडाका चन्द्रबहादुर थिङ पछिल्लो दुई दिन पोखरामा पर्यटकको भीड देखेर अचम्मित नै भए । ‘पहिला सिजन मिलाएर आइन्थेन । यसपटक आउँदा त मान्छे धेरै रहेछन् । हिजोभन्दा आज अझै कम भएका छन्,’ फेवाताल किनार बाराही घाटमा भेटिएका उनले भने । पोखरामा होटल खोज्न राति करिब दुई घण्टा समय लागेको उनले सुनाए ।
असोज, कात्तिकको चाडपर्व बिदामा घुमफिरमा निस्कने संस्कृति कोभिड–१९ पछि नेपालीहरुमा निकै बढेको छ । यसबाहेक विदेशी पर्यटक पनि यही समय अर्थात् सेप्टेम्बर, अक्टोबर, नोभेम्बरमा ट्रेकिङ र घुमघामका लागि पोखरा आउँछन् । मुस्ताङ, म्याग्दीको नर्थ अन्नपूर्ण बेसक्याम्प, पुनहिल, कास्कीको साउथ अन्नपूर्ण बेसक्याम्प, मर्दी, क्हफुचे, कोरी, खुमै–कोर्चा, मनाङको तिलिचो तालसहित अन्नपूर्ण सर्किट घुम्न जानेका लागि पोखरा ‘ट्रान्जिट’ हो ।
यही कारण धेरै पर्यटक पोखरामा एकरात बास बसेर गन्तव्यतर्फ लाग्छन् । पोखरामा पर्यटक भरिभराउ हुनुको एउटा कारण यो पनि हो । ‘ट्रान्जिट’ बनाएर घुम्न जानेबाहेक परिवार र साथीभाइसँग पोखरामात्र घुम्न आउनेको संख्या पनि कम छैन । पोखरा नजिकैका पर्यटकीय गाउँ सिक्लेस, ल्वाङ, घान्द्रुक, ताङतिङमा पनि पर्यटकको चाप निकै रहृयो । गण्डकी प्रदेशका चल्तीका सबै गन्तव्यका व्यवसायीले प्रि–बुकिङ नगरी नआउन आग्रह नै गर्नुपरेको थियो ।
फेवाताल किनार बाराही घाटमा डुंगा सयर गर्न लाइफ ज्याकेट लिने र फिर्ता गर्ने पर्यटकको भीड । तस्बिर : अनुप/कान्तिपुर
लेकसाइड र पोखराको बजार क्षेत्रमा १ हजार २ सयको संख्यामा होटल छन् । ती होटलमा ४० हजार बेड क्षमता छ । होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले तिहारमा पर्यटकको चापले आफूहरुलाई निकै ठूलो राहत भएको बताए । मंगलबारसम्म ९० प्रतिशत होटल बुकिङमै रहेको उनले सुनाए । ‘प्रमुख सिजनको मुखमा आन्दोलन भयो । मौसमको कारणले घर बाहिर ननस्किनु भन्ने आदेश आयो,’ उनले थपे, ‘दसैंको एकादशीदेखि पूर्णिमासम्म पर्यटकको बाक्लो उपस्थिति रहन्थ्यो । यसपटक त्यस्तो भएन । तिहारमा धेरै राम्रो बुकिङ भयो ।’ उनकाअनुसार अघिल्ला वर्ष दसैंको समयमा होटलमा ८० प्रतिशतसम्म अकुपेन्सी हुन्थ्यो । यस वर्ष दसैंको समयमा ३५ प्रतिशत मात्र अकुपेन्सी भएको उनले सुनाए ।
फेवाताल, बेगनास ताल, पुम्दीकोट महादेव मन्दिर, तालबाराही मन्दिर, विन्ध्यावासिनी मन्दिर, शान्ति स्तूप, पाताले छाँगो, गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफामा पर्यटकको धेरै चाप रहने गरेको छ । फेवातालमा डुंगा सयर गर्ने र तालबाराही मन्दिर जानेको भीडले तिहारको भोलिपल्टदेखि डुंगा चालकलाई भ्याइनभ्याइ छ ।
फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले प्रायः दसैंको पूर्णिमासम्म देखिने दर्शनार्थी र पर्यटकको भीड यसपटक तिहारमा देखिएको सुनाए । चार दिनदेखि आठ वटै डुंगा घाटका चालकलाई फुर्सद नरहेको उनले बताए । ‘पहिला–पहिला पूर्णिमामा धेरै भीड हुन्थ्यो । अहिले स्वदेशी पर्यटक धेरै भएर थेग्नै नसक्ने स्थिति छ,’ उनले भने ।
फेवातालस्थित तालबाराही मन्दिर दर्शन गर्न डुंगामा जाँदै पर्यटक । तस्बिर : अनुप/कान्तिपुर
तिहारको भोलिपल्टदेखि अनुमानित २० हजार पर्यटकले तालबाराही मन्दिर र फेवातालमा डुंगा सयर गरिरहेको उनले सुनाए । ‘हाम्रा आठ वटा घाट छन् । डुंगा चलाउने भाइहरुले चलाउँदा–चलाउँदै नभ्याउने गरेर चाप बढेको छ,’ उनले थपे, ‘दसैंपछि अहिले मौसम पनि राम्रो छ । पर्यटकीय गन्तव्य भएकाले पनि घुम्ने केन्द्रबिन्दु भयो । यसले हृवात्तै चाप बढेकोजस्तो लाग्छ ।’
नेपालीहरुमा घुमफिर र हाइकिङ–ट्रेकिङ जाने संस्कृति विकास भएकाले पर्यटन क्षेत्रलाई पछिल्ला वर्ष धेरै राहत महसुस भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् । विदेशभन्दा पहिला देश घुमौं भन्ने भावना, आवागमनको सहज पहुँच र नयाँ–नयाँ गन्तव्य पहिचाइ भइराख्नुले पनि घुम्ने संस्कृति विकास भएको उनको बुझाइ छ । ‘युवाहरु एड्भेन्चर टुरिजम मन पराइरहेका छन् । पहिला आफ्नै देश घुमौं भन्ने भावना पनि विकास भएकोजस्तो लाग्छ । विदेश भएकाहरु पनि यहीबेला आएर देश घुम्ने चलन छ,’ उनले भने ।
नेपालीको धेरै चाप हुँदा कतिपय ट्रेकिङ रुटमा व्यवसायीलाई व्यवस्थापनमा समस्या भइरहेको उनले सुनाए । ट्रेकिङमा जाँदा एकपटक ट्रेकिङ कम्पनीसँग रुटबारे सोधपुछ र परामर्श गरेर जान उनले पर्यटकलाई आग्रह गरे ।
