भारत र चीनसँग मात्रै नेपालको ३ खर्ब बढीको व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारतसँग १ खर्ब ९९ अर्ब र चीनसँग १ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Nepal's trade deficit with India and China alone is over 300 billion rupees

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालले ५९ अर्ब १२ करोड रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । जसका कारण भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको छ ।

त्यस्तै, उत्तरी छिमेकी चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाख रुपैयाँको मात्रै गरेको छ । जसका कारण नेपालले चीनसँग १ खर्ब ४ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ ।

भारतपछि सबैभन्दा बढी व्यापार घाटा रहेको मुलुक चीन हो । त्यसपछि नेपालले अफगानिस्तान, अर्जेन्टिना, अस्ट्रेलिया, बंगलादेशदेखि अमेरिकी मुलुकहरूसँग पनि ठूलो व्यापार घाटा बेहोरेको छ ।

नेपालले हाल १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरूसँग भने वैदेशिक व्यापार नाफामा रहेको विभागको तथ्यांकले देखाउँछ ।

कान्तिपुर

Link copied successfully