बिजुली काटिएपछि घोराही सिमेन्टको उत्पादन ठप्प

घोराही सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र आवश्यकताअनुसार सिमेन्ट उत्पादन गर्दै आएको थियो। दैनिक ८५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहे पनि बजारको मागअनुसार उत्पादन भइरहेको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले बताए ।

कार्तिक १०, २०८२

दुर्गालाल केसी

Ghorahi Cement production halted after power outage

What you should know

दाङ — दाङका घोराही र सोनापुर सिमेन्ट उद्योग बन्द भएका छन् । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते घोराही सिमेन्ट र कात्तिक ७ गते सोनापुर सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि दुवै उद्योग ठप्प भएका हुन्।

घोराही सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र आवश्यकताअनुसार सिमेन्ट उत्पादन गर्दै आएको थियो। दैनिक ८५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहे पनि बजारको मागअनुसार उत्पादन भइरहेको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले बताए।

उद्योग बन्द भएपछि ६ सय कामदार र कर्मचारी कामविहीन भएका छन्। कर्मचारीलाई राख्ने वा बिदा गर्ने भन्ने विषयमा अन्योल रहेको सुवेदीले बताए। उनका अनुसार सरकारले कुनै निकास दिने आशामा उद्योग र कर्मचारी प्रतीक्षामा बसेका छन्।

सिमेन्ट उत्पादन बन्द हुँदा बजारका निर्माण कार्यमा असर परेको सुवेदीले बताए। उनका अनुसार यसको मार उपभोक्तालाई नै पर्ने भएकाले सरकारले यसबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता छ।

Ghorahi Cement production halted after power outageसोनापुर सिमेन्ट उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो। उद्योग बन्द हुँदा दैनिक ५० लाख रुपैयाँभन्दा बढी घाटा भइरहेको उद्योगका कार्यकारी प्रमुख हरी पाठकले बताए। उद्योग बन्द भएपछि ३ सय ५० कर्मचारीलाई अर्को सूचना नभएसम्म काममा नआउन भनिएको उनले जानकारी दिए। ‘उद्योग बन्द भएको अवस्थामा कर्मचारीलाई बोलाएर के गर्नु?’ उनले भने, ‘एक्कासी उद्योग बन्द हुँदा ठूलो घाटा भइरहेको छ।’

पाठकका अनुसार सरकारले ५ प्रतिशत धरौटी राखेर बक्यौता रकम बिस्तारै तिर्ने सहमति भए पनि ऊर्जामन्त्री कुलमान घिसिङले त्यसलाई बदर गर्दै बक्यौता उठाउन प्रक्रिया सुरु गरेपछि उद्योग संकटमा परेको हो। ‘ठूलो राजस्व तिर्ने उद्योगलाई विद्युत् आपूर्तिका नाममा बन्द गर्ने अवस्था राम्रो होइन,’ उनले भने, ‘हामीले कारोबारमा सुधार गर्दै बक्यौता तिर्ने योजना बनाइरहेका थियौं, तर लाइन नै काटिँदा सबै काम ठप्प भयो।’

उद्योग बन्द हुँदा बजारको कारोबार र आर्थिक गतिविधिमा गम्भीर असर परेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले बताए। ‘उद्योग बन्द हुनु दुखद पक्ष हो,’ उनले भने, ‘यसले धेरैको रोजगारी र बजार ठप्प पारेको छ। सरकार जिम्मेवार भएर विकल्प खोज्नुपर्छ।’

घोराही सिमेन्ट उद्योगको ५० करोड ८५ लाख र सोनापुर सिमेन्ट उद्योगको २४ करोड ३० लाख रुपैयाँ विद्युत् बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully