कैलालीका स्थानीय गल्ला व्यापारीहरूले किसानबाट हाल बढीमा प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँसम्ममा धान खरिद गरिरहेको बताएका छन् ।
What you should know
धनगढी — कैलाली, कञ्चनपुरलगायत तराईका किसान सस्तो मूल्यमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म धान खरिद सुरु नगरेपछि किसान स्थानीय गल्ला व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका हुन् ।
सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । तर, लिमिटेडले खरिद सुरु नगर्दा किसान भने मोटो धान प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमै बिक्री गर्न बाध्य भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले धान खरिद तत्काल सुरु गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले कार्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा निर्धारण गर्न लिमिटेडलाई आग्रह गरेको हो । गत साता जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूको बैठक बसेर उक्त निर्णय गरिएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दीपक थापा केन्द्रबाट आइतबारसम्म धानको खरिद कोटा निर्धारण नभएको बताउँछन् । ‘कोटा निर्धारण नहुँदा खरिद प्रक्रिया सुरु गर्न नसकिएको हो । केन्द्रबाट कोटा निर्धारण भएर आउने बित्तिकै हामी खरिद कार्य सुरु गर्ने तयारीमा छौं ।’
गत वर्ष खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले कैलालीमा ५५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर कार्तिक पहिलो सातादेखि धान खरिद कार्य सुरु गरेको थियो । पोहोर साल कम्पनीले मोटा धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेर धनगढीस्थित मोहनपुर, टीकापुर, सत्ती, भजनी, बर्दगोरियालगायत कैलालीका ६ ठाउँमा काँटा राखेर धान खरिद गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्षमा लक्ष्य अनुसार धान खरिद गर्न सकेको थिएन । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा मुल्य बढाएको भए पनि कतिपय किसानले भने सस्तो मूल्यमा गल्ला व्यापारीलाई नै धान बिक्री गरेका थिए । ०८०/८१ मा प्रतिीक्वन्टल ३ हजार १ सय ५८ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । त्यसबेला किसानले गल्ला व्यापारीलाई प्रतिक्विन्टल ३ हजार ७५ रुपैयाँमै बिक्री गरेको बताएका थिए ।
अर्कोतिर यहाँका किसान खाद्यमा बिक्री प्रक्रिया झन्झटिलो रहेको भन्दै गल्ला व्यापारीलाई धान बिक्री गर्ने गरेको बताउँछन् । ‘खाद्यमा धान बिक्री गर्न सजिलो हुँदैन । राम्रो, केलाएको, सफा र आफ्नो पराइ गरेर किन्छन्,’ कैलारीका किसान रेवन्त बोहराले भने, ‘त्यसैले केही सस्तोमा भए पनि गल्ला व्यापारीलाई नै बिक्री गर्ने गरेका हौं ।’
कैलालीका स्थानीय गल्ला व्यापारीहरूले किसानबाट हाल बढीमा प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँसम्ममा धान खरिद गरिरहेको बताएका छन् । कैलालीका यासिका ट्रेडर्सका गल्ला व्यापारी रामबहादुर चौधरीले अहिलेसम्म २ हजार ५ सय रुपैयाँ प्रतिक्विन्टलमा धान किनिरहेको बताए । ‘मैले अहिलेसम्म तीन सय क्विन्टलसम्म धान खरिद गरेको छु,’ उनले भने, ‘सात वर्षजति भयो धान खरिद बिक्रीको व्यापार गरेको । यस वर्ष उत्पादन राम्रो भएको छ । तर किसानले अपेक्षित रूपमा धान बिक्री गर्न ल्याएका छैनन् ।’
कैलालीकै हसुलियाका स्थानीय गल्ला व्यापारी अनुरागवंशी ट्रेडर्सका शेरचन चौधरीले किसानहरू सरकारी दररेट कार्यान्वयनको प्रतीक्षामा रहेकाले आफूहरूसँग कम मात्रामा धान बिक्री गर्न आउने गरेको बताए ।
गत वर्ष खाद्यले एक जना किसानबाट ५० क्विन्टलसम्म धान खरिद गर्ने मापदण्ड बनाएको थियो । त्यसका लागि धान सफा हुनुपर्ने, परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने उल्लेख गरेको थियो ।
कैलालीमा गत वर्ष ३ लाख २४ हजार ८ सय ८४ मेट्रिक टन बर्खे धान उत्पादन भएको तथ्यांक छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार ६८ हजार ५ सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएकामा ४ दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो ।
