दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले दियो ३ सय बढी मजदुरलाई अनिश्चितकालका लागि बिदा
बुटवल — डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योगको बिजुली काटेको एक साता भयो। प्राधिकरणले बिजुली काटेसँगै उद्योग कात्तिक ४ गतेदेखि बन्द छ।
अर्घाखाँची सिमेन्टले दैनिक ६० हजारभन्दा बढी बोरा उत्पादन गर्दै आएको थियो। प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्नेछ।
२०७१ सालमा रूपन्देहीस्थित भैरहवामा स्थापना भएको कम्पनीले ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको थियो। कम्पनीले २०७६ सालदेखि पीपीसी सिमेन्ट पनि उत्पादन गर्दै आएको छ। दैनिक ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उद्योग पछिल्लो समय ६५ प्रतिशत क्षमतामा सञ्चालनमा रहेको थियो।
कम्पनीका प्रशासन प्रमुख अजय भट्टराईका अनुसार प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटेपछि उद्योग बन्द भएको हो। ‘कम्पनीले नियमित विद्युत् महसुल तिर्दै आएको थियो,’ उनले भने, ‘तर पुरानो ट्रंकलाइनको महसुल भन्दै प्राधिकरणले ठूलो रकम तिर्नुपर्ने देखाएपछि त्यसको बिल वा उद्योगले प्रयोग गरेको प्रमाण माग्दा नदिई त्यही रकम भुक्तानी नगरेको भन्दै लाइन काटिएपछि कम्पनी बन्द भएको हो।’
कम्पनी बन्द भएपछि उद्योगमा कार्यरत तीन सयभन्दा बढी मजदुरलाई अनिश्चितकालका लागि बिदा गरिएको उनले बताए। उनका अनुसार तत्काल उद्योग बन्द भएको अवस्थामा कुनै निर्णय हुन सकेको छैन र अब सञ्चालन हुने–नहुने कुरा सरकारको निर्णयमा भर पर्नेछ।
