बैंकमा पैसा नघटेपछि आज राष्ट्र बैंकले ४२ दिनका लागि ९० अर्ब झिक्दै

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । राष्ट्र बैंकले आइतबार र बुधबार नियमित रूपमा पैसा झिक्दै आएको छ ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Nepal Rastra Bank withdraws Rs 90 billion for 42 days as banks run out of money

What you should know

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज आइतबार पनि वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । राष्ट्र बैंकले आइतबार र बुधबार नियमित रूपमा पैसा झिक्दै आएको छ ।

गत साता तिहार बिदा परेकाले राष्ट्र बैंकले पैसा निकाल्न पाएको थिएन । तिहार बिदा पछि कार्यालय खुलेको पहिलो दिन आइतबारै परेकाले उल्लिखित पैसा निकाल्न लागेको हो । बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरूमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा गरिएको थियो । सुरुका महिनामा कर्जा माग बढ्ने संकेत पनि देखिन थालेका थिए । तर २३ र २४ भदौको प्रदर्शनपछि सिर्जित असहज परिस्थितिका कारण कर्जा विस्तार ठप्प जस्तै भएको बैंकहरू बताउाछन् । यही कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप लगातार बढिरहेको छ भने ऋण दिन मिल्ने रकम पनि थुप्रिँदै गएको उनीहरूको भनाइ छ ।

गत असारमै बैंक तथा वित्तीय संस्थासाग करिब १० खर्ब ८६ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम जम्मा भएको थियो । गएको आर्थिक वर्षका ११ महिनासम्म औसत ६ खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम रहेकामा असार मसान्तमा एक्कासि बढेर साढे १० खर्ब रुपैयाँ पुगेको थियो । त्यसपछिका महिनामा पनि ऋण दिन मिल्ने रकम थपिने क्रम रोकिएको छैन । यसअनुसार साउनमा यस्तो रकम १० खर्ब १२ अर्ब, भदौमा १० खर्ब ४६ अर्ब र असोजमा ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको थियो ।

कान्तिपुर

Link copied successfully