तिहारमा चितवन निकुञ्ज घुम्ने बढे

तर तिहार सकिएसँगै पर्यटक घट्न थालेपछि पर्यटन व्यवसायीले उत्साह हराउँदै गएको बताएका छन् ।

कार्तिक ९, २०८२

रमेशकुमार पौडेल

Chitwan National Park sees increase in visitors during Tihar

What you should know

चितवन — भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र प्रदर्शनको प्रभावले सुस्ताएको पर्यटन दसैंका बेला भारी वर्षापछिको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा राजमार्ग बन्द हुँदा झनै मारमा पर्‍यो । तिहारमा अवस्था अर्कै भयो । चितवन निकुञ्जको आडमा रहेको सौराहामा बाटो छिचोल्नै गाह्रो हुने गरेर घुम्नेहरु ओइरिए । तर तिहार सकिएसँगै यो संख्या घट्न सुरु भएको छ । त्यसैले पर्यटन व्यवसायीहरु खासै उत्साहित छैनन् ।

सात वर्षदेखि निकुञ्जमा पर्यटक घुमाउने पेसा (नेचरगाइड)मा संलग्न सौराहाकी अस्मिता महतो शुक्रबार र शनिबार साह्रै व्यस्त भइन् । शनिबार उनी पर्यटकलाई जिप सफारी गराउने तीन पटक सामुदायिक वन र निकुञ्जभित्र गइन् । उनी प्राय एक र दुई पटक पर्यटक लिएर जाने गरेकी थिइन् । ‘आज आइतबारसम्म त ठीक ठीकै पर्यटक छन् । अब भोलि पर्सीबाट के कसो हुने हो,’ अस्मिताले भनिन् ।

बाघ, गैंडा जस्ता दुर्लभ वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज पहिलो गन्तव्य हो । चितवन निकुञ्ज घुम्न आउने पर्यटक चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न १० नाका भएर निकुञ्ज प्रवेश गर्दछन् । तीमध्ये सौराहा सबैभन्दा धेरै पर्यटक आउने नाका हो । निकुञ्ज घुम्नेमध्ये ८० प्रतिशतभन्दा बढी सौराहा हुँदै निकुञ्ज छिर्ने गरेको तथ्यांक छ ।

सौराहामा रहेको निकुञ्जको टिकट काउन्टरबाट प्राप्त विवरण अनुसार तिहारको भाइटीकाको दिन पर्यटक खासै थिएनन् । भोलिपल्टबाट यो संख्याले हजार नाघ्यो । सौराहा हुँदै निकुञ्ज घुम्ने स्वदेशी हजारौँ आउँदा सार्क राष्ट्रका पर्यटक फाट्टफुट्ट जस्तै छन् । अन्य विदेशी पर्यटकको संख्या पनि चार सय पुग्न सकेको छैन । विदेशी नबढ्दा र स्वदेशी ह्वार्र बढेर फेरि घट्दा व्यवसायी उत्साहित नभएका हुन् । 

निकुञ्जको सौराहा टिकट काउन्टरका कर्मचारी शंकर योगीका अनुसार कात्तिक १ गते स्वदेशी पर्यटकको संख्या एक हजार ३८८ थियो । त्यसपछि यो संख्या ओरालो लाग्दै गएर भाइटीकाको दिन कात्तिक ६ गते २११ मा झर्‍यो । तर कात्तिक सात गते ह्वात्तै बढेर एक हजार ४६५ पुग्यो । कात्तिक आठ गते शनिबार यो संख्या उच्च बिन्दुमा पुग्यो । त्यस दिन दुई हजार ५६३ जना स्वदेशी पर्यटकले निकुञ्ज घुमे ।

विदेशी पर्यटकको संख्या कात्तिक एक गते ३८१ थियो । यसमा सामान्य घटबढ हुँदै गएर शनिबार अधिकतम ३९९ पुग्यो । सार्क देशका पर्यटक कात्तिक एक कते ३२ जना सौराहाबाट निकुञ्ज घुम्न गएको तथ्यांक छ । यो संख्या पनि घटबढ हुँदै गएर शनिबार अधिकतम ८७ पुग्यो । अर्थात तिहार अवधिमा निकुञ्ज घुम्न सौराहा आउने सार्क क्षेत्रका पर्यटकको संख्या दिनमा सय नाघेको पनि देखिँदैन ।

‘नेपालीको संख्या शुक्रबार र शनिबार साह्रै राम्रो थियो । तर त्यो पनि ह्वार्र आए जस्तो भयो । आइतबारबाट घट्न सुरु भएको छ,’ क्षेत्रीय होटल संघ (हान) सौराहा चितवनका अध्यक्ष ओम पाण्डेले भने । निकुञ्जको सौराहा काउन्टरबाट प्राप्त विवरण अनुसार आइतबार बिहानको समयमा निकुञ्ज घुम्ने टिकट लिने नेपाली एक हजार १७६ छन् । सार्कका ५९ र विदेशी पर्यटक २८१ छन् ।

साँझपख जानेहरु थपिँदा यो संख्या केही पक्कै बढे पनि अघिल्लो दिनको संख्यालाई उछिन्न नसक्ने पर्यटन व्यवसायीहरु बताउँछन् । ‘दुई दिन ८० प्रतिशतसम्म कोठाहरु भरिए । अब घट्छ । पहिला सेप्टेम्बरदेखि अक्टोबर, नोभेम्बर र मध्य डिसेम्बरसम्म कोठाहरु राम्रै भरिभराउ हुन्थे । यो पटक जेन–जी आन्दोलन लगत्तै बुकिङ धेरै क्यान्सिल भए । त्यसैले आउँदा दिनमा खासै चहलपहल नहोला,’ पाण्डेले भने । 

यो पटक अब बढीमा ५० प्रतिशतसम्म कोठा भरिने आशा गरेको पाण्डेले बताए । विदेशी पर्यटकको संख्या उल्लेख्य बढ्न नसक्दा पर्यटन व्यवसायीहरु चिन्तित छन् । सौराहा पश्चिम जहाँ विदेशी पर्यटक तुलनात्मक रुपमा धेरै आउँछन् त्यहाँका होटलहरुको अवस्था अलि फरक छ । 

अक्टोबर १० अर्थात् असोज २४ पछि आफ्नो होटलमा पर्यटकको राम्रै चहल पहल रहेको मेघौलीको पर्यटकीय रिसोर्ट बाराही जंगल लजका अप्रेसन म्यानेजर सुभास गुरुङले बताए । सो रिसोर्टमा स्वदेशीभन्दा विदेशी पर्यटक धेरै बस्न आउँछन् । ९० प्रतिशत विदेशी आउने सो होटलका कोठा अहिले ८० प्रतिशतसम्म भरिने गरेको गुरुङले बताए । यो क्रम आउँदो महिनासम्म कायम रहने उनको अपेक्षा छ ।

चितवन निकुञ्ज विश्वमै दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोही जस्ता जीव, जनावरहरुको मुख्य बासस्थल हो । यहाँ आउने पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा डुल्छन् । निकुञ्ज र मध्यवर्ती वनमा जिप सफारी र निकुञ्ज आडको राप्ती र बुढी राप्ती नदीमा ढुंगा सफारी पनि गर्छन् । निकुञ्ज घुम्न देश विदेशबाट वर्षमा तीन लाख पर्यटक आउने गर्दछन् । तर पछिल्लो समय विदेशी पर्यटक बढ्न सकेका छैननन् भने स्वदेशी पनि घट्दो क्रममा छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully