कृषकलाई धान भित्र्याउने चटारो 

नगरदेखि दुर्गम गाउँपालिकासम्म सबै कृषकलाई धानकै चटारोले छोएको छ ।

कार्तिक ७, २०८२

अनिश तिवारी

Farmers in a hurry to import rice

What you should know

सिन्धुपाल्चोक — जिल्लाभर दसैं-तिहार सकिएलगत्तै कृषकलाई धान भित्र्याउने चटारो छ । मौसम परिर्वतनले गर्दा धान पाक्न ढिला भएकाले दसैंलगत्तै कृषक धान भित्र्याउन कस्सिएका हुन्  ।

'असारमा पानी ढिलो गरी पर्‍यो, धान पनि ढिलै पाकेकाले काट्न पनि ढिलै गरियो, असिना पानी पर्ने डरले गर्दा मौसमको भर छैन , त्यसैले धान काट्न हतारिएका हौं ,' बाह्रबिसे नगरपालिका राम्चेका कृषक कृष्ण तिवारीले भने । उनका अनुसार पहिले कात्तिक लागेपछि मात्रै जाडो हुन्थ्यो तर, यसपालि असोजको पहिलो साताबाटै जाडो सुरु भएको छ । ज्याला बढ्नुका साथै खेताला पाउन छोडेपछि धान भित्र्याउन परिवारकै सदस्य मिलेर लागेका छन् । 

'गाउँमा लगभग युवा छैनन्, परिवारका सदस्य मिलेर पालोपर्म गरेर धानबाली भित्र्याइरहेका छौं ,' बलेफी गाउँपालिका फुल्पिङकोटका कृष्ण थापाले भने । थापालाई नयाँ घरको बाससँगै असारभरिको दु:ख रोपाइँ धानको भकारी कस्दा खुब आनन्द लागेको छ । 

नगरदेखि दुर्गम गाउँपालिकासम्म सबै कृषकलाई धानकै चटारोले छोएको छ । जिल्लाकै अत्यधिक धान उत्पादन हुने मेलम्ची नगरपालिकामा यो वर्ष धान उत्पादन बढेको कृषक बताउँछन् । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा १२ हजार हेक्टरमा ३४ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यो वर्ष ९९ प्रतिशत भूभागमा रोपाइँ भएकाले ८ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको १२ वटै स्थानीय तहका विषयगत कृषि विकास कार्यालयले जनाएका छन् । अघिल्लो वर्षमा ४ सय हेक्टर बाँझो थियो । हाल २ सय हेक्टर मात्रै खाली जग्गा देखिएको तथ्यांक छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully