भैरहवामा जसले पिज्जाको स्वाद फैलाए

आशा र टमप्रसादको संघर्ष, परिवारको मिहनेत र सेवाप्रतिको समर्पणले पिज्जा किङलाई स्वाद र सफलताको प्रतीक बनाएको छ ।

कार्तिक ५, २०८२

दीपेन्द्र बडुवाल

The one who spread the taste of pizza in Bhairahawa

What you should know

भैरहवा — सीमावर्ती सहरको पकवान भन्ने बित्तिकै तपाईको दिमागमा झट्ट समोसा–मटरको स्वाद पस्छ होला, कि मिठाइका परिकार याद आउँछन् ।

सीमावर्ती बजारमा ठाउँ अनुसार हलुवा, पुरी, रावडी, लङलत्ता पनि रुचाइन्छ । मध्य तराईको सहर भैरहवामा रैथानेसँगै विदेशी परिकार पनि लोकप्रिय बनेका छन् । 

कुरा २५ वर्ष पहिलेको हो । त्यतिबेला विदेशी स्वादले अहिलेजस्तो साम्राज्य बिस्तार गरिसकेका थिएनन् । भैरहवाका आशा गुरुङले २०५८ सालमा भैरहवामा पिज्जा किङ रेष्टुरेन्ट सुरुवात गरे । त्यसपछिमात्र स्थानीयले पिज्जाको सोधखोज गर्न थालेका थिए । ‘पिज्जा के हो ? कसरी खाने भनेर दिनमा २५ देखि ३० कल आउँथे,’ आशाले भने, ‘पिज्जा खान २० किलोमिटर टाढाबाट पारखी आउँथे ।’ 

The one who spread the taste of pizza in Bhairahawa

सन् १९९१ मा बैदेशिक रोजगारीमा जर्मनी गएका बेला दुई वर्ष पिज्जा रेष्टुरेन्टमा काम गरेर पकाउन र डेलिभरी गर्न सिकेको उनले बताए । जर्मनीमा फोनबाट अर्डर गरेको २५ मिनेटभित्र पिज्जा घरमै पुर्‍याउने गरिन्थ्यो । त्यसभन्दा ढिलो भए निशुल्क सेवा दिनुपर्थ्यो । त्यहाँ काम सिकेर मुलुक फर्किएपछि भैरहवाको मुख्य चाेकमा १५ सय रुपैयाँमा सटर भाडामा लिएर व्यवसाय सुरु गरेको उनले बताए । ‘यहाँ कलर आइडी र मोबाइल फोन थिएनन्,’ उनले भने, ‘तैपनि ३० मिनेटभित्र पिज्जा घरमै पुर्‍याउने गरी सेवा सुरु गर्‍यौं ।’ 

घरसम्म सेवा दिन दुईवटा स्पेलेन्डर मोटरसाइकल व्यवस्था गरेको उनले बताए । सुरुमा ओभन अभावमा तावामा पिज्जाको बेश तयार गरेर माइक्रो ओभनमा पकाउने गरेको उनले जनाए । त्यसबेला युनिभर्सल मेडिकल कलेजमा दक्षिण भारतका विद्यार्थी धेरै थिए । उनीहरु पिज्जा र बर्गर पारखी थिए । ‘त्यसबेला ८० प्रतिशत ग्राहक भारतीय विद्यार्थी हुन्थे,’ उनले भने, ‘पिज्जा प्याक गर्ने डिब्बा पनि पाउँथेन ।’ सुरुमा १ सय २० देखि ९० रुपैयाँमा पिज्जा बिक्री हुन्थ्यो । त्यसबेला दैनिक १० हजार रुपैयाँको बिक्री हुन्थ्यो । त्यहीँबेला मुलुकमा सशस्त्र द्वन्द्व चर्कियो । ‘घर–घरै सेवा पुर्‍याउन नसक्ने अवस्था बन्यो,’ उनले भने, ‘कामदार पाउन सकिएन ।’ त्यसपछि सिद्धार्थनगर–१२ मा रहेको रेष्टुरेन्ट करिब ४ वर्ष उनले सञ्चालन गरेर बिक्री गरे ।

The one who spread the taste of pizza in Bhairahawa टमप्रसाद र आशमाया गुरुङ । 

रेष्टुरेन्टको चमकधमक देखेका स्थानीय टमप्रसाद र आशमाया गुरुङले पिज्जा किङ खरिद गरे । टमप्रसाद भारतीय सेनामा कार्यरत थिए । अवकाशपछि केही समय काठमाडौंमा रेष्टुरेन्ट सञ्चालन गरे । उनीहरु भैरहवाका रैथाने । ‘घरपाई चलेको रेन्टुरेन्ट खरिद गरेर भैरहवा आयौं,’ ६० वर्षीया आशमायाले भनिन्,‘यहीँ रेष्टुरेन्टले भैरहवामा पिज्जाको सुरुवात गरेको हो । त्यतिबेला अहिलेजस्तो आधुनिक भाँडाकुँडा थिएनन् । परम्परागत तरिकाले एउटै साइजको पिज्जा तयार गरिन्थ्यो ।’ त्यतिबेला तत्कालीन सरकार–माओवादी द्वन्द्व उत्कर्षमा थियो । राजनीतिक दलहरु दैनिक प्रदर्शन गर्थे । लामो समयसम्म बन्द/हड्ताल आव्हान गरिन्थ्यो । ‘जिल्ला प्रहरीको छेउमा हाम्रो रेष्टुरेन्ट थियो,’ उनले भनिन्, ‘प्रहरीले सोझ्याएको बन्दुकको निसाना हाम्रो पसलतिर हुन्थ्यो ।’ त्यसबेला भैरहवामा रेष्टुरेन्ट धेरै थिएनन् । पुष्पदीप, टप एन्ड टाउन, परेली खाजा घरमा भीड हुन्थ्यो । पशुपति लज सञ्चालनमा थियो । यो भैरहवाकै पुरानो लज हो । ‘पिज्जा किङ नाम सुनेरै ग्राहक पस्थेनन्,’ उनले भनिन्,‘धेरैले नयाँ परिकार पक्कै महंगो होला भन्ठान्थे ।’ तर, पिज्जा चाख्न भनेर टाढाटाढाबाट ग्राहक आउँथे । बिस्तारै पिज्जा, मःमः, चाउमिन, चिकनचिल्ली खाने ग्राहकको ओइरो लाग्न थाल्यो । ‘सुरुमा ७/८ जना कर्मचारी थिए,’ उनले भनिन्, ‘डेढ वर्षपछि १५ जना कर्मचारी पुर्‍याइयो ।’ सुरुमा रेष्टुरेन्ट रहेको घरभाडा १० हजार रुपैयाँ प्रतिमहिना थियो । ‘हामीले १० हजार भाडा तिर्दा जिब्रो टोक्ने धेरै थिए,’ ६५ वर्षीय टमप्रसादले भने, ‘पछि त्यहीँ घरको ५० हजारसम्म भाडा तिरेका थियौं ।’

रेष्टुरेन्ट चलाउन त्यसबेला गरेको मिहेनत सम्झिँदा पनि कहाली लाग्ने आशमाया बताउँछिन् । रेष्टुरेन्टका लागि आवश्यक ओभन, फ्रिज, चम्चा, प्लेटदेखि खाद्यान्न आफै खरिद गर्थिन् । भान्छामा चाहिने सबै सामग्री जुटाएपछि ग्राहकको खुसी र दुखेसो सुन्थिन् । ‘टमाटरको सस पनि आफै बनाउथ्यौं,’ उनले सम्झिइन्, ‘बिहानै उठेर टमाटर धोइपखाली पकाएर पिज्जालाई चाहिने सस तयार गर्थ्यौ ।’ बिहानैदेखि राति ११ बजेसम्म खटिने गरेको उनले बताइन् । उनका अनुसार रातभरि रेष्टुरेन्ट झलल्ल बलिरहन्थ्यो । दिनमा एक हजार जना ग्राहक आउँदा पनि समस्या झेल्नु परेन । आशमायाले भनिन्, ‘अचाक्ली मदिरा सेवन गर्न पनि दिइएन । पियक्कडलाई मायाले सम्झाएर घर पठाउथे । कसैले मसित नमिठो व्यवहार गरिहाले अर्कोदिन आएर आमा माफी दिनुस् भन्थे ।’ भैरहवामा डेरा गरेर बस्ने विद्यार्थी घर जाँदा भेटेर जान्थे । घरबाट फर्किपछि भेट्न आउने गरेको उनले बताइन् । 

पतिको सैनिक स्वभाव र नेपाली बजारबारे धेरै जानकारी नभएकाले केही वर्ष आवश्यक सरजाम र किनमेलका काम आफैले गरिन् । रेष्टुरेन्टका आवश्यकता पूर्ति र सुविधा बढाउन कृषि विकास बैंकबाट ८ रुपैयाँ ऋण लिइन् । ‘राति ११ बजेसम्म आफै बसेर जम्मा भएको पैसाजति बैंक, स्टाफ, खाद्यान्न, उधारो चुक्ता र नाफा गरेर भाग लगाउँथे,’ उनले भनिन्, ‘बेलैमा ऋण चुकाएपछि कृषि विकास बैंकले पनि असल ऋणी भनेर सम्मान गर्‍यो ।’

बैंकको ऋण चुक्ता गरेपछि किनमेलको जिम्मा पति टमप्रसादलाई सुम्पिइन् । उनले पनि साइकलमा पसलमा चाहिने समान ओसार्न थाले । खाद्यान्न धेरै खपत हुन थालेपछि किनमेल सहज तुल्याउन स्कुटर खरिद गरेको सुनाए । यसबीच कान्छा छोरा कुमार र बुहारी अरुणाले पनि रेष्टुरेन्टको काममा सघाउन थालिसकेका थिए । उनीहरु दिनरात नभनी बुवा–आमालाई सहयोग गर्थे । ‘हाम्रो रेष्टुरेन्ट पुरानो शैलीको थियो,’ अरुणाले भनिन्, ‘आधुनिक सजावट थिएन ।’

The one who spread the taste of pizza in Bhairahawa

कुमार गुरूङ र अरूणा । 

समयसँगै रेष्टुरेन्टको सजावट परिमार्जन गर्नुपर्छ भनेर २०७५ सालमा नयाँ ठाउँमा सरेको उनले बताइन् । ८० लाख खर्च गरेर नयाँ ठाउँमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको पहिलो वर्षमै ग्राहकको भीड लागेको अरुणाले सुनाइन् । अहिले पनि सप्ताहन्तमा सांगीतिक प्रस्तुति हुन्छ । जन्मदिन, विवाह वर्षगाँठका कार्यक्रम धेरै हुन्छन् । ‘हाम्रो पिजा खाएर हुर्किएको पुस्ता रुपन्देहीभरि छन्,’ कुमारले भने, ‘बिदेशमा रहेकाले पनि अर्डर गरेर आफ्नो घरमा पठाउँछन् ।’

हङकङ, बेलायत, युरोप, अमेरिकामा रहेका व्यक्तिले अनलाइनबाट पैसा पठाएर खानेकुरा घरमा पुर्‍याउन लगाउने उनले बताए । सिमावर्ती भारतीय सहर सुनौली, नौतनुवा र गोरखपुरबाट नियमित ग्राहक आउछन् । ‘युनिभर्सल मेडिकल कलेजमा अध्ययन गर्ने भारतको केरलाका विद्यार्थीको ओइरोनै लाग्थ्यो,’ आशमायाले भनिन् । रेष्टुरेन्टले ‘होम डेलिभरी’लाई प्राथमिकता दिएको छ । उत्तरमा रुपन्देहीको मणिग्राम, पश्चिममा बेथरी, पूर्व रोहिणी र दक्षिण भारतको सुनौलीसम्म खाना पुर्‍याउने व्यस्था गरेको छ । ‘भैरहवाभन्दा बाहिर खाना पुर्‍याउन आफैं जान्छु,’ कुमारले भने, ‘भैरहवाभरि निशुल्क डेलिभरि सुविधा छ । त्यहाँभन्दा बाहिर जानु पर्‍यो भने केही शुल्क लाग्छ ।’ 

The one who spread the taste of pizza in Bhairahawa

दत्तचित्त भएर व्यवसायमा लागेकी आशमाया र टमप्रसादले नयाँ ठाउँमा रेष्टुरेन्ट सरेपछि व्यवसाय छोराबुहारीको जिम्मा लगाए । अहिले कुमार र अरुणा ग्राहक सेवामा खटिन्छन् । कर्मचारी अपुग भएका दिन कुमार आफै वेटरको काम गर्छन् । भान्छामा सेफ नभएका दिन अरुणाले परिकार तयार गर्छिन् । ‘भीड भएका कुमारले वेटर र मैले कुकको काम गछौं,’ अरुणले भनिन, ‘टाढासम्म होम डेलिभरीको काम कुमारले नै गर्छन् ।’

अहिले रेष्टुरेन्टमा १२ जना कामदार छन् । यहीँ रेष्टुरेन्टमा काम सिकेर धेरै जना बैदेशिक रोजगारीमा गइसकेका छन् । ‘यहाँबाट काम सिकेर गए विदेशमा राम्रो जव पाउछन,’ कुमारले भने, ‘त्यसैले हामीले काम सिकाउने गरेका छौं । यहीँ बस्नेलाई पनि ठिकै छ । जानेलाई रोक्न सक्दैनौं ।’ 

दीपेन्द्र बडुवाल

Link copied successfully