गत असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व संकलन

गत भदौको जेनजी आन्दोलन र चाडपर्वका कारण देशभरका मालपोत कार्यालयमा आगजनी, क्षति तथा सेवा अवरुद्ध हुँदा राजस्व संकलन सामान्य रह्यो।

कार्तिक ५, २०८२

कान्तिपुर संवाददाता

2.75 billion rupees revenue collected from real estate transactions in Asoj

What you should know

काठमाडौँ — गत असोजमा देशभरका मालपोत कार्यालयले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ रुपैयाँ बराबरको राजस्व संकलन गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो । 

चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व संकलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६० रुपैयाँ, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ रुपैयाँ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर  एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ रुपैयाँ संकलन भएको छ । 

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले २७ करोड ४२ लाख ९६ हजार दुई सय १० रुपैयाँ, आगलागी र तोडफोडमा परेको कलंकी मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

यसैगरी मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९ रुपैयाँ, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९० रुपैयाँ, मालपोत कार्यालय मनमैजु काठमाडौँले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको विभागले जनाएको छ ।

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।-

कान्तिपुर संवाददाता

Link copied successfully