रसुवागढी नाका २४ असारदेखि ठप्प छ । त्यताबाट आउने सामान पनि अहिले कोरला नाका हुँदै भित्रिरहेका छन् ।
काठमाडौँ — मुस्ताङको कोरला नाका सञ्चालनमा आएको करिब डेढ महिनामा १५३८ वटा विद्युतीय गाडी भित्रिएका छन् । लत्ताकपडा, जुत्ता–चप्पल पनि यही नाका भएर भित्रिरहेका छन् ।
रसुवागढी नाका भने २४ असारदेखि ठप्प छ । त्यताबाट आउने सामान पनि अहिले कोरला नाका हुँदै भित्रिरहेका छन् । सिन्धुपाल्चोकको तातोपानी नाका पनि अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो गएर लामो समय बन्द रह्यो । यही ८ असोजबाट पहिरो पन्छाएपछि भने नाका सञ्चालनमा आएको थियो । यो नाका पनि लामो समय बन्द भएकाले दसैंका सामान कोरला नाका हुँदै नेपाल भित्राइयो । कोरला नाका सञ्चालनमा आएपछि यसबाट २ अर्ब ७८ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
कोरला नाका गत २१ भदौदेखि सञ्चालनमा आएको हो । चीनको लिजीसम्म चीनकै कन्टेनरले सामान ल्याउँछन् । त्यसपछि नेपालबाट गएका कन्टेनरले त्यहाँबाट सामान लोड गरेर मुस्ताङको कोरालासम्म ल्याउँछन् । यस नाकाबाट चाडबाडका लागि विद्युतीय सवारीसाधन बढी भित्रिएका छन् । दसैंपछि सामान लिन १ सय ५८ कन्टेनर चीनतर्फ गएकामा केही आएका र केही सामान लोड गरेर आउने क्रममै रहेको मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले जनाए ।
‘चिसोले गर्दा समस्या भएको छ,’ खड्काले भने, ‘सामान लिन गएका कन्टेनरमा स्टार्ट नहुने समस्या छ । बीचबाटोमै रोकिने गरेका पनि छन् ।’ यो नाकाबाट विद्युतीय गाडी धेरै आइरहेको उनको भनाइ छ । विद्युतीय गाडी चलाएर ल्याउन भने समस्या छैन । ‘हाई अल्टिच्युडले कन्टेनरबाट सामान लिएर आउन समस्या भएको हो,’ उनले भने, ‘सडकको समस्या भने छैन, केही समयअघि पानी परेर सबैतिर समस्या हुँदा यहाँ केही भएन, निर्वाध रूपमा सामान आइरह्यो ।’ मुस्ताङबाट पोखरा जान पनि समस्या नभएको खड्काको भनाइ छ ।
चीनसम्म सामान लिन मुस्ताङका चालक मात्र जान पाउँछन् । कोरला नाकाबाट चीनको लिजी ५ सय मिटर दूरीमा पर्ने खड्काले बताए । भन्सार कार्यालय भने नेचुङमा छ, जुन ३ हजार ९ सय मिटर उचाइमा पर्छ । नेचुङबाट कोरला नाका १४ किलोमिटर दूरीमा छ, जुन ४ हजार ६ मिटर उचाइमा छ । ‘सडकको समस्या नहुँदा सामान आयात गर्न समस्या छैन, तर चिसोले गर्दा सामान लिन गएका सवारीसाधनबीच सडकमै रोकिँदा भने समस्या हुने देखिएको छ,’ खड्काले भने, ‘जाडोमा नाका चलाउन कठिन पर्छ कि जस्तो भएको छ ।’ विद्युतीय गाडीका लागि चार्जिङ स्टेसनको पनि समस्या छ । सीमित कम्पनीले मात्र चार्जिङ स्टेसन राखेको खड्काले जनाए ।
यता तातोपानी नाका भने पटक–पटक पहिरोका कारण सडक अवरुद्ध भई बन्द भएर ८ असोजबाट पुनः सञ्चालनमा आएको छ । अहिले यो नाकाबाट सामान आरहेको तातोपानी भन्सार कार्यालय, लार्चाका भन्सार अधिकृत एवं सूचना अधिकारी रमेश साहले बताए । ‘चीनले थोरै १५/२० वटा मात्र कन्टेनर दैनिक छाड्ने गरेको छ,’ उनले भने, ‘जसमा धेरै फलफूल आउने गरेको छ ।’ विद्युतीय गाडीहरू थोरैको संख्यामा आइरहेको छ । बीचमा दसैंले गर्दा नाका बन्द रह्यो ।
‘दसैंपछि १९ असोजबाट नाका चल्यो,’ साहले भने, ‘अहिले विद्युतीय गाडी दिनको २/३ वटा आउने गरेका छन् ।’ चीनतर्फबाट गाडी कम छाडेको गुनासो व्यवसायीबाट आएपछि यसबारे चिनियाँ पक्षसँग संवाद गरिरहेको उनले जनाए । नेपालबाट दिनहुँ खाली कन्टेनर २० वटा जाने र त्यति नै संख्यामा उताबाट कन्टेनर आउने गरेका छन् । ‘अहिले तिहारका लागि बढी मात्रामा ओखर आइरहेको छ,’ साहले भने, ‘त्यसपछि विद्युतीय गाडी, लत्ताकपडा, जुत्ता चप्पल आइरहेको छ ।’
मंगलबारसम्म २ अर्ब ७५ करोड ८६ लाख राजस्व संकलन भएको उनले बताए । ‘चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य २४ अर्ब ४७ करोड हो,’ साहले भने, ‘धेरै समय नाका बन्द भएकाले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो ।’
रसुवागढी भन्सार नाका तीन महिनादेखि ठप्प छ । नाका जोड्ने बेलिब्रिज र सडक अझै बनिसकेको छैन । गत २४ असारमा ल्हेन्देखोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै अहिले रसुवागढी नाका ठप्प बनेको हो । नाका सञ्चालनमा आउन पहिला ल्हेन्देखोलामा बेलिब्रिज बन्नुपछ । रसुवागढीदेखि–स्याफ्रुबेसी जोड्ने सडक पनि सहज हुनुपर्छ ।
तिहारमा नाका खुल्न कठिन रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । ‘बेलिब्रिज बनिसकेको छैन,’ उनले भने, ‘समय लागिरहेको छ, नेपालतर्फको सडक पनि बनिसकेको छैन ।’ चीनबाट तयारी वस्तु यो नाका हुँदै नेपाल आउँथे । दिनको करिब एक सय कन्टेनर ओहोरदोहोर गर्थे ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । ‘अहिलेसम्म १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो, तर नाका नखुल्दा सम्भव भएन,’ उनले भने, ‘नयाँ आर्थिक वर्ष सुरु भएता राजस्व संकलन शून्य छ ।’
