नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
What you should know
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
संयुक्त राज्य अमेरिकाको वासिंटन डीसीमा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष ढकालले सो कुरामा जोड दिए ।
अर्थमन्त्री रामेश्वर खनाल राष्ट्र बैंकका गभर्नर डा. विश्वाथ पौडेल अर्थ सचिव डा.घनश्याम उपाध्याय तथा अन्य उच्चपदस्थ अधिकारीहरू सहितको नेपाली प्रतिनिधिमण्डलसँगै महासंघका अध्यक्ष ढकालले सो बैठकमा सहभागिता जनाएका थिए ।
बैठकका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह, र अन्तर्राष्ट्रिय वित्त निगम (आइएससी) का वरिष्ठ प्रतिनिधिहरूसँग भेटवार्ता गरे ।
'विश्व बैंक वार्षिक बैठक २०२५ मा आफ्ना आर्थिक प्राथमिकताहरू र वैश्विक साझेदारीका विषयहरु प्रस्तुत भएका छन् । हामीले पनि हाम्रा धारणा सशक्त रूपमा राखेका छौं । विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन, तथा दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे व्यापक छलफल भएको छ,' उनले भने ।
सो अवसरमा अध्यक्ष ढकालले ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु, आईएफएफका पूर्व प्रबन्ध निर्देशक तथा हाल युरोपियन सेन्ट्रल बैंक (इसीबी) का अध्यक्ष क्रिस्टिन लगार्डसँग पनि भेट गरे ।
उक्त अवसरमा उनले नेपालका आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता, तथा दिगो लगानीका अवसरहरूबारे छलफल गरे ।
२५औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई जोड दिएको र यी छलफलहरूले सहकार्य र लगानीलाई वृद्धि गर्ने बाटो खोल्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले जनाए ।
अन्तर्राष्ट्रिय बैठकहरूमा महासंघको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न, र निजी क्षेत्र तथा बहुपक्षीय संस्थाबीचको सहकार्य बलियो बनाउन मद्दत पुर्याउँछ । जसले नेपाललाई आर्थिक अवसरहरूको उदीयमान केन्द्रको रूपमा स्थापित गर्नेछ ,' उनले भने ।
ती बैठकहरूले नेपालका आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम स्थापित गरेको महासंघले जनाएको छ ।
